काठमाडौँ, वैशाख ५ : माया प्रेमको कथालाई नै निरन्तरता दिएको विषयवस्तुमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ झरना थापाको निर्देशनमा फेरि रजतपटमा देखापरेको छ । स्वर्गीय शिव रेग्मीको निर्देशनबाट सुरु भएको ‘ए मेरो हजुर’ को शृङ्खलालाई निरन्तरता दिँदै बनेको चलचित्र सुनिलकुमार थापाको लगानी र झरना थापाको निर्देशनमा यसअघि दोस्रो र तेस्रो संस्करण पनि बनिसकेका छन् । मिलन–बिछोड र रुवावासी नै जसरी अधिकांश नेपाली चलचित्रहरूका आधार बनेका छन् । र, ए मेरो हजुर ४ पनि त्यसबाट उम्किन सकेको छैन ।
यसअघि साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँलाई लिएर थापाले ‘ए मेरो हजुर २’ बनाएकी थिइन् भने तेस्रोमा अनमोल केसीसँग आफ्नी छोरी सुहाना थापालाई डेब्यु गराएकी थिइन् । अनमोल र सुहानाकै जोडी ‘ए मेरो हजुर ४’ मा दोहोरिएको छ । निर्देशक थापाले यसमा पनि प्रेमकै कथा छानेकी छिन् । प्रेममै संसार अडिएको छ भन्छन्, तर उनको यस प्रेमकथा भने बक्स अफिसमा कतिञ्जेल अडिन्छ भन्ने कुरालाई चलचित्रको सफलताले निक्र्योल गर्नेछ ।
धनी परिवारका एक्ला छोरा हुन् प्रेम (अनमोल केसी) । प्रेमलाई पैसाको दुःख छैन तैपनि उनी कामलाई सर्वोपरि मान्छन् । आफूले मिहिनेत गरेर कमाएको प्रतिष्ठा नै आफ्नो लागि ठूलो कुरा भन्ने प्रेम ठान्दछन् । प्रेमका बुवा (सरोज खनाल)ले प्रेमलाई बारम्बार आफ्नो व्यवसायमा सघाउन आग्रह गर्छन्, तर प्रेम आफ्नै रोजगारमा रमाउँछन्, बुवाको कुरालाई टार्छन् । प्रेम, एउटा क्याफेमा कफी बनाउने काम गर्छन् ।
नेवार परिवारमा हुर्किएकी आर्या (सुहाना थापा) लाई बुवा रवि गिरीको डाक्टर बनाउने सपना छ तर उनी आफ्नै जन्डो पारामा मस्त छिन् । उनी रक्सी पिउँछिन्, परिआउँदा केटाहरूलाई झापड हान्छिन् र आफूलाई मन लागको जे पनि गरिदिन्छिन् । प्रेम र आर्याको भेट आर्याको हराएको कुकुर (टोनी)बाट हुन्छ । टोनीकै कारण यी दुईबीच माया बस्छ । यी दुवैको प्रेम र त्यसमा आउने आरोह–अवरोहमै चलचित्रको मुख्य कथा घुमेको छ ।
चलचित्रको मध्यान्तरसम्म प्रेम र आर्याको माया र नाचगानमा सकिएको छ । घरपालुवा कुकुरले चलचित्रमा अधिक प्राथमिकता पाएको छ । कहिलेकाहीँ त यस्तो लाग्छ टोनीका अघिल्तिर सबै कलाकार सहायक हुन् । चलचित्रको कथा जनावर प्रेमप्रति बडो संवेदनशील छ । यतिसम्म कि टोनीलाई न्याय दिलाउनको खातिर पे्रम र आर्या अदालतसम्म पुग्छन् । न्यायाधीशको भूमिकामा किरण केसी छन् । उनले बहसपछि दिएको निर्णयमा निर्देशक अलि बढी महìवाकाङ्क्षी देखिएकी छिन् । निर्देशकले नेपाल पुलिसलाई पनि चलचित्रमा व्यङ्ग्य गर्न खोजेकी छिन् । यस्तै चलचित्रमा नेपालमा भएको बङ्गलादेश विमान दुर्घटनाको प्रसङ्ग जोडिएको छ । यसले कथालाई पूर्णता दिन कोसिस गरेको छ ।
आफ्नो लभर ब्वायको इमेजमा टिक्न अनमोलले कुनै कसर छाडेका छैनन् तर उनले आफ्नो अभिनय कौशल देखाउने पर्याप्त मौका भने यस पटक पनि पाएका छैनन् । आफ्नो दोस्रो चलचित्रमा सुहानाले केही नयाँ गर्न खोजेको देखिन्छ । उनले यस चलचित्रमा यथेष्ट प्राथमिकता पनि पाएकी छिन् । नेवार पहिरन र लवज उनलाई एकदमै सुहाएको छ । रवि गिरीसँग जति कौशल छ त्यसको पर्याप्त उपयोग चलचित्रमा हुन पाएको छैन । सलोन बस्नेत, रिअर राई र सरोज खनालले खासै प्रभावकारी भूमिका पाएका छैनन्, त्यसैले उनीहरूको काम औसतमै टुङ्गिएको छ । चलचित्रको सङ्गीत र सिनेम्याटोग्राफीमा भने राम्रो काम भएको छ ।
समग्रमा चलचित्र एक पटक हेर्दा पछुताउनु पर्दैन । आशा छ, आगामी चलचित्रमा निर्माता-निर्देशकले आफ्नो मेकिङमा स्तरोन्नति गर्नेछन् र दर्शकले यिनका चलचित्र दोहो-याई तेह-याई हेर्नेछन् । गुणवत्तामा ध्यान दिइएको खण्डमा आफ्नो चलचित्रले प्राथमिकता पाएन, हलवालाले दुःख दिए भनेर गुनासो गर्ने ठाउँ नरहेको गोरखापत्र अनलाइनमा खबर छ ।