पीएसजी फ्रेन्च लिगको उपाधि नजिक

  बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : पेरिस सेन्ट जर्मेन (पीएसजी)  फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा दोस्रो स्थानको मार्सेलीलाई २-१ गोलले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले गोल गर्नुभयो । मार्सेलीका डुजे कालेटा कारले सान्त्वना गोल फर्काउनुभयो । नेयमारले १२औँ मिनेटमा खाता खोल्नुभएको थियो । ३१औँ मिनेटमा डुजे कालेटा कारले गोल गर्दै मार्सेलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

तर पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई पुनः अग्रता लिदाउनुभयो । त्यसपछि थप गोल नहुदा पीएसजी विजयी भयो । जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । पराजित मार्सेली ५९ अंक सहित दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया