बलेवा, चैत २८ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउनुहुन्छ । उहाँको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उहाँले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाउनुभएको छ । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत उत्पादन गरेर शर्माले आफ्ना ग्राहकलाई तरकारी पुर्ययाउनुभएको छ ।
उहाँले वर्षेनी तीन खाल मूल्य बढीको तरकारी बजार पठाउनुहुन्छ । यो उहाँको हिउँदे र वर्षे आलुबाहेक तरकारीबाट मात्रै हुने आम्दानी हो । आलुबाट हुने आम्दानी जोड्दा उहाँले घर खर्च चलाउने, छोराछोरी पढाउने खर्च गरेर बचत गर्नुहुन्छ । प्रविधिले साथ दिएकाले ऋषिरामलाई तरकारी फलाउन र बिक्री गर्न सहज छ ।
ऋषिरामको प्लाटिक घरमा अहिले पनि अकवरे खुसानी र गोलभेँडा फलेका छन् । खेतमा लगाइएको बर्खे आलुले खेतैभरी हरियो बनाएको छ । पाँच मुरी आलुको बीउ लगाएका शर्माले ४० मुरी आलु फलाउने लक्ष राख्नुभएको छ् । ‘हिउँदे आलुको मूल्य परेन, बर्खामा त ५० रुपैयाँ किलो कसो नपर्ला र’ शर्माले भन्नुभयो, “अहिले तरकारी खेती गर्दा पनि राम्रै हुन्छ भन्ने मलाई पनि लागेको छ, गाउँले पनि त्यसै भन्छन् ।’’ शर्मा गाउँका अगुवा किसान पनि हुनुहुन्छ ।
उहाँले गरेको तरकारी खेती गरेको देखेर देखासिकी गर्नेहरु गाउँमा बढेका छन् ।“अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ’’, शर्माले भन्नुभयो, “किसानका लागि बिउदेखि औजार, उपकरणसमेत अनुदानमा पाउने भएपछि कृषिमा आकर्षण बढ्दो छ ।’ व्यावसायिक उत्पादन गर्ने किसानलाई फार्म दर्ता गरेमा अनुदान दिने गरेको छ । वडामा दर्ता भएर चलेका हरेक किसानले रु ५० हजार अनुदान पाएको शर्माले बताउनुभयो ।
पाँच वर्षयता वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्न थालेपछि गाउँमा १५० घरमा प्लाटिक घर छन् । पहिले बजारको तरकारी किनेर खाने गाउँलेहरु अहिले तरकारी बिक्री गर्ने गरेको वडाध्यक्ष विद्यापति शर्मा बताउनुहुन्छ । वडाले उत्पादनअनुसार टोललाई पकेट क्षेत्र बनाएको छ । आलुको उत्पादन धेरै हुने भीमापोखरामा तरकारी र फलफूलका पकेट क्षेत्र बनाइएका छन् ।
“हामिले किसानको आवश्यकताअनुसार तालिम, प्रशिक्षणलगायत प्राविधिक विषयमा सहयोग गर्छौँ’’, शर्माले भन्नुभयो, “ ‘आधुनिकीकरणमा किसान उत्साहित भएर सहभागी हुने गरेका छन् ।’’सिँचाइको प्रबन्ध राम्रो भएकाले पनि किसान उत्पादनमा जोडिएको उहाँले बताउनुभयो । भीमा पोखरामा उत्पादन भएको तरकारी बागलुङ बजारमा बिक्री हुने गरेको छ ।