काठमाडौँ, चैत १० : कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो ।
सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिनुभयो ।
“काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ”, उहाँले भन्नुभयो । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।