दार्चुला, चैत २४ : गर्मी बढ्न थालेसंगै व्यास गाउँपालिका–१ का सौँका समुदाय गाउँ फर्किने तयारीमा छन्। हिउँदमा व्यासका दुई गाउँ छाङरु र तिङ्करमा बाक्लो हिमपात हुने भएकाले चिसो छल्न बेँसी झरेका थिए। मङ्सिरमा खलंगा झरेका स्थानीय वैशाख पहिलो साता गाउँ फर्किने (कुञ्चा सर्ने) तयारीमा रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो।
कुञ्चा सर्न नेपालको भूमी भएर खलंगासम्म आवतजावत गर्ने बाटो भने अझै निर्माण भएको छैन। सरकारले अझै पनि नेपाली भूमि भएर जाने बाटो निर्माण नगरेपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ फर्किनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। खलंगाबाट धार्चुला हुँदै भारतीय बाटोबाट गाउँ फर्किनका लागि बहुयात्रा अनुमति–पत्र बनाउने काम भइरहेको छ। व्यास गाउँपालिका–१ छाङरुस्थित सीमा प्रशासन कार्यालयको सेवा दार्चुला सदरमुकाम खलंगास्थित तिङ्करखेडाबाट सुरु गरिएको दुई दिनमै १५३ जनाले बहुयात्रा अनुमति–पत्र लिएको सीमा प्रशासन कार्यालय प्रमुख एवम् शाखा अधिकृत मोहनसिंह धामीले जानकारी दिनुभयो।
‘अहिले छाङरु र तिङ्करका सौँका समुदाय खलंगामा बसोबाँस गरिरहेका छन्’, शाखा अधिकृत धामीले भन्नुभयो, ‘उनीहरु कुञ्चा (बसाइँ) सर्नको लागि भारतीय बाटो हुँदै गाउँ जान बहुयात्रा अनुमति–पत्र बनाउन आइरहेका छन्।’ व्यवसायी छ÷छ महिनामा खाद्यान्न, वस्तुभाउ र लालाबालासहित कुञ्चा सर्ने गरेका छन्। विदेशी भूमि प्रयोग गर्दै कुञ्चा सर्ने अनुमतिका लागि जिल्ला समन्वय समिति र वडा कार्यालयको सिफारिसका आधारमा बहुयात्रा अनुमति पत्र जारी हुन्छ।
छाङरु र तिङ्करमा पाँच महिनादेखि सञ्चार अवरुद्ध
व्यासको छाङरु र तिङ्करमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ। स्काई टावर रहेको छाङरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो। गत मङ्सिरको हिमपातपछि छाङरुमा टेलिफोन सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो।
‘नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म हिउँ नपग्लिएका कारण चैतसम्म जान सक्ने अवस्था रहेन’, गुरुङले भन्नुभयो, ‘हिउँ पग्लिदै जाँदा वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला। सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालनमा रहेको उहाँले बताउनुभयो। सशस्त्र प्रहरीले पनि महिनौंसम्म सञ्चारबिहीन हुनुपरेको थियो। केही दिन पहिले कार्यालय प्रमुख गुरुङले आफैँ छाङरु पुगेर सशस्त्र प्रहरीको फोन लाइन सञ्चालन गरेको बताउनुभयो।
तिङ्कर सुरक्षाबिहीन, कुञ्चासंगै प्रहरी पनि सर्ने
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित चीनसँग सीमा जोडिएको तिङ्कर छायाँलेक क्षेत्र पाँच महिनादेखि सुरक्षाबिहीन बनेको छ। चिसोका कारण प्रहरी गत कार्तिकमै छाङरु झरेपछि तिङ्कर नाका सुरक्षाबिहीन बनेको हो।
स्थानीयबासी कुञ्चा सर्नुभन्दा पहिले नै प्रहरी चिसो छल्न छाङरु झरेका हुन। कार्तिक पहिलो साता परेको अविरल वर्षा र हिमपातसँगै छायाँलेकमा रहेका प्रहरी छाङरु झरेका हुन्। हिमपातका कारण अत्याधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी तल झरेका हुन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले भन्नुभयो, ‘अहिलेसम्म छाङरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन्। स्थानीय गाउँ फर्किएसँगै प्रहरी पनि तिङ्कर उक्लने (सर्ने) तयारीमा छ। यो वर्ष तिङ्करमा सशस्त्र प्रहरीको बीओपीको भवन पनि निर्माण भएको छ, अब नेपाल प्रहरीसँगै सशस्त्रसमेत तिङ्करमा बस्ने बताइएको छ। चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधासम्पन्न नहुँदा चिसोको समयमा बस्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।