हवाई यात्रुलाई सास्ती

  चैत १५, २०७८

काठमाडौँ, चैत १५ : नेपालमा हवाई यात्रुको मानव अधिकार तथा उपभोक्ताको अधिकारको सवाललाई समेट्ने नीति नहुँदा हवाई यात्रुले सास्ती भोग्नुपरेको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा सोमबार राजधानीमा आयोजित ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल कार्यक्रममा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनले सो कुरा औँल्याएको हो ।

यात्रुको उपभोक्ता अधिकार सम्बन्धमा विमानस्थल तथा विमान सेवा कम्पनीमा गरिएका स्थलगत अनुगमनको प्रतिवेदन प्रस्तुत गर्दै आयोगका उपसचिव मञ्जु खतिवडाले विविध कारणले आठ घण्टासम्म उडान ढिला हुँदासमेत विमान सेवा कम्पनीले यात्रुको खाने, बस्ने सुविधाको कुनै प्रबन्ध नगरेको, उडान ढिला हुने सूचना नपाएको, विमानस्थलभित्र अत्यन्त महँगो मूल्यको खानेकुरा खानुपर्ने बाध्यता झेल्नुपरेको बताउनुभयो ।

यसैगरी हवाई यात्रुले शौचालय, विश्रामस्थलको अभावका साथै बिरामी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले समेत टिकटमा प्राथमिकता नपाउनेलगायतका समस्या रहेको उपसचिव खतिवडाले औँल्याउनुभयो । समयमा उडान नहुँदा यात्रुले बेखर्ची भएर भोग्नुपर्ने समस्या मानव अधिकारको उल्लङ्घनकै रूपमा हेर्नुपर्ने आयोगले दाबी गरेको छ ।

सो अवसरमा आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले विमानस्थलमा हवाई यात्रुको मानव अधिकार रक्षा र उपभोक्ता अधिकारको प्रवद्र्धनका लागि सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन भइरहेको बताउनुभयो । कार्यक्रममा मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सञ्चार माध्यममा हवाई सेवाका यात्रुले सास्ती खेपेको समाचार सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएकाले उक्त समस्या समाधानका लागि अध्ययन गरेको बताउनुभयो ।

सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक हंशराज पाण्डेले हवाई यात्रुको सुरक्षित उडान, भाडादर तोक्नेलगायत उडान प्रक्रियालाई व्यवस्थापन गर्न ऐन, नीति तथा कार्यविधि भए पनि उडान ढिला हुँदा यात्रुको सुरक्षा र अन्य व्यवस्थापन कसले गर्ने भन्ने स्पष्ट नीति नभएको स्वीकार्नुभयो ।

उहाँले भन्नुभयो, “उडान ढिला हुने प्रमुख कारणमा मौसम र प्राविधिक कारण हुन् तर यात्रुले कुरा नबुझ्दा बढी समस्या देखिएको छ । यात्रुको मानव अधिकार र उपभोक्ता अधिकारलाई सम्बोधन गर्ने नीति पनि बनाउनुपर्ने आवश्यकता देखिएको छ ।”

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्न सक्ने क्षमताको बनेकामा हाल प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रु आवागमन गर्छन् र हवाईजहाजको सङ्ख्या पनि बढेकाले उडानको क्रममा हुने एयर ट्राफिक जामका कारण यात्रु तथा हवाई सेवासँग सम्बन्धित सबै पक्षले नै सास्ती झेल्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यात्रुको माग अनुसारको सेवा र सुविधा यथास्थितिमा दिन नसकिने भएकाले विमानस्थल पूर्वाधारको विस्तार आवश्यक छ । ”बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले हवाई यात्रा विलासिता होइन, आजको आवश्यकता भइसकेको अवस्थामा सबै वर्ग समुदायले हवाई यात्रा गर्न सक्ने मूल्य निर्धारण भएकाले यात्रु बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भौगोलिक बनावट र मौसमका कारण हवाई उडान नहुने वा ढिला हुने गरेका छन् ।

यो अवस्था मानिसको नियन्त्रणबाहिरको भएकाले यात्रुले पनि धैर्य गर्नुपर्ने अवस्था छ । ”विमानस्थलको भौतिक पूर्वाधार कमजोर भएका कारण समस्या हुने गरेको चर्चा गर्दै यती र तारा एयरलाइन्सका स्टेसन म्यानेजर फुरी तामाङले भन्नुभयो, “एउटा विमान उडानमा ढिला हुनेबित्तिकै दिनभरकै रुटिन गडबड हुन्छ । यसले गर्दा सबैले कष्ट झेल्नुपरेको छ ।”

तपाईको प्रतिक्रिया