बारा, चैत ११ : बेमौसमी वर्षाले तरकारी बालीमा पु-याएको क्षतिको असर अहिले बजारमा परेको छ । कलैया बजारमा ८० रुपैयाँ प्रतिकिलो पाईने हरियो खुर्सानीको मुल्य चार सय रुपियाँ प्रतिकिलो पुगेको तरकारी व्यवसायीहरुको भनाई छ । त्यस्तै, अन्य हरियो तरकारीको बजार मूल्य पनि बढेको छ ।
बजारमा खुर्सानीको अभाव सिर्जना भएको र खुर्सानीसहितको हरियो तरकारी बजार आपुर्तिमा कमी आएपछि मुल्य आकासिएको कलैयाका तरकारी व्यवसायीले बताएका छन् । उपभोक्ताको मागअनुसार तरकारी आपुर्ति नभएपछि विचौलियाले नै आफुखुशी मुल्य बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।
खुर्सानी थोकमै खरिद गर्दा बढी मुल्य तिर्नुपर्ने भएकाले बजारमा खुद्रा मुल्यमा बेच्दा मुल्य बढ्न गएको कलैया बजारका तरकारी पसले सन्तोष जैसवालले बताउनुभयो । वर्षाले सुरुमै तरकारीको बोट सुकाएपछि समयमा स्थानीय खुर्सानी उत्पादन हुन नसकेको व्यवसायीको भनाई छ । सिजनमा खुर्सानी उत्पादनमा कमी आउने भएकाले मुल्य अचाक्ली बृद्धि भएको कलैया उपमहानगरपालिका –१ का वडा अध्यक्ष हरिओम सोनारले बताउनुभयो ।
खुर्सानीसहितको हरियो तरकारीको मुल्य आकाशिएको छ, गोलभेडा दुई सय, भन्टा ८०, करैला एक सय, काक्रो दुई सय, गाँजर सय, केराउ सय, परवल एक सय ३०, सिमी सय, कटहर एक सय २०, रामतोरिया एक सय ५०, काउली २५, बन्दा.३० मा प्रतिकिलो र लौका सय रुपियाँमा बिक्री भइरहेको व्यवसायीको भनाई छ ।
तरकारी व्यवसायी संघ कलैया बजारका अध्यक्ष दिपलालप्रसाद साहकाअनुसार किसानबाट खरिद गरिएको हरियो तरकारीमा व्यवसायीले ५ देखि १० रुपियाँसम्म फाइदा लिएका छन् । सोभन्दा बढी मूल्यमा विक्री गरिए कारवाही हुने उहाँले बताउनुभयो ।