जुनियर राष्ट्रिय टेनिसमा राजवीरलाई स्वर्ण पदक

  चैत १०, २०७८

पोखरा, चैत ९ : पोखरामा सञ्चालन भएको ‘मनुश्री–भिग्नाजित जेटीआई’ राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ अन्तर्गत १४ वर्ष मुनिको इभेन्टमा राजवीर प्रधानले स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

पोखरा रङ्गशालाभित्रको टेनिस कम्प्लेक्समा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराका दर्शिल श्रेष्ठलाई ६–२ र ६–२ को समान अङ्कमा पराजित गर्दै राजवीरले स्वर्ण पदकसहित रु १२ हजार पुरस्कार प्राप्त गर्नुभयो । उपविजेता श्रेष्ठले रु छ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा नेपाल टेनिस सङ्घको समन्वयमा यही चैत ७ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । यसैगरी १२ वर्ष मुनिको इभेन्टमा ब्रिजेश अर्याल प्रथम, स्पर्श तिमिल्सिना क्षेत्रीले द्वितीय र अशाभ सम्राट हाडाले तृतीय स्थान हासिल गर्नुभएको कास्की जिल्ला टेनिस सङ्घका सचिव एवं प्रतियोगिता संयोजक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० वर्ष मुनिको इभेन्टमा विश्व डल्लाकोटी प्रथम, सङ्घर्ष फोकदार द्वितीय, सन्दीप जिसी तृतीय र सनम सापकोटाले सान्तत्वना स्थान हासिल गर्नुभयो । आठ वर्ष मुनिको ब्वाइज’ एकलको उपाधि पोखराका आर्यशराज पौडेलले जित्नुभयो ।

फाइलन खेलमा उहाँले पोखराकै नितेश थापालाई पराजित गर्दै नेपालको शीर्षस्थान कायमै राख्न सफल हुनुभयो । प्रतियोगितामा निर्जल टण्डनले तृतीय र सुभान केसीले चौथो स्थान प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेनिस अभिभावक सङ्घका सदस्य भीष्मराज पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया