गिरिजाप्रसाद कोइराला स्मृति हक्की प्रतियोगितामा नेपाली सेना, सुप र लुम्बिनी प्रदेश विजयी

  चैत ०९, २०७८

विराटनगर चैत ९ : विराटनगरमा सञ्चालन भएको स्व गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली सेना, सुदूरपश्चिम र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

नेपाल हक्की सङ्घद्वारा आयोजित विराटनगरको शहीद रङ्गशालामा भएको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को गोल अन्तरमा पराजित गरेको छ । यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ७–१ गोलअन्तरमा पराजित गरेको छ ।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश नं १ लाई ४–१ गोल अन्तरमा पराजित गरेको छ । नेपाली सेना र सुदूरपश्चिम प्रदेश समान २–२ खेल जित्दै छ/छ अङ्कका साथ अगाडि रहेका छन् भने प्रदेश १ र बागमती प्रदेशको तीन/तीन अङ्क रहेको छ ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु ३५ हजार र तेस्रो हुने टोलीले नगद रु १५ हजार साथै ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल गण्डकी प्रदेश र बागमती प्रदेश, दोस्रो खेल सुदूरपश्चिम र प्रदेश १ तथा तेस्रो खेल लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया