राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

  चैत ०९, २०७८

काठमाडौँ, चैत  ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि अध्यादेश जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनमा आउने कानुनी आधार तयार भएको हो ।

यसअघि सरकारले गत मङ्सिरमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो तर सो अध्यादेश संसद्मै नपुगी निष्क्रिय भएको थियो । त्यसअघि सरकारले २०७८ वैशाखमा पनि रेल्वे अध्यादेश जारी गरेको थियो । त्यसबेला पनि संसद् अधिवेशन सुरु नभएको र जारी भएको ६० दिनभित्र संसद्मा पेस हुन नसकेका कारण अध्यादेश निष्क्रिय भएको थियो ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले जनकपुर–जयनगर अन्तरदेशीय रेल सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार तयार भइसकेको बताउँदै रेल सञ्चालन उद्घाटनको मिति नेपाल र भारतबीचको सहमतिमा तय हुन सक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “रेल सञ्चालनका लागि अब कुनै समस्या छैन । अब मुख्य कुरा रेल सेवा शुभारम्भको मिति तय हुनुप-यो । यो दुई मुलुकबीचको उच्चस्तरीय कुरा हो ।” एक महिनादेखि जयनगरबाट कुर्थासम्म यात्रुबिना रेल ओहोरदोहोर गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया