तनहुँ, चैत ८ : जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर हुनुहुन्छ । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् ।
शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील हुनुहुन्छ । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गर्नुभएको हो ।
करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउनुहुन्छ । वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उहाँले बताउनुभयो । दुई महिना अदुवा खन्नैमा बितेको उहाँको भनाइ छ । “तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ ।” अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
अदुवा प्रतिकिलो रु तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् । थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए । त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।
सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् । सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोख्नुभयो ।
सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ सुकाइन्छ । यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् ।
यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउनुहुन्छ । एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उहाँ बताउनुहुन्छ ।