काठमाडौँ, चैत ४ : मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशुविज्ञको अनुभव छ ।
राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने बीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । बीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उहाँको भनाइ छ ।
नेपालीका अनुसार एउटा परिपक्क साँढेले ३५ हजार गाईलाई गर्भधारण गर्न सक्ने बीर्य उत्पादन गर्छ । त्यसलाई नेपालमा अरू जातका गाईमा गर्भधारण गराएर पछिल्लो पुस्ताबाट धेरै उत्पादन लिन सकिने सम्भावना रहेको पनि नेपालीले बताउनुभयो । केन्द्रका अनुसार एउटा राँगोले जीवनकालमा २८ हजार भैँसीलाई गर्भधारण गराउन सक्ने बीर्य उत्पादन गर्न सक्छ तर तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका राँगोको बीर्य गुणस्तरीय हुने नेपालीले जानकारी दिनुभयो ।
केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक बीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताउनुभयो । केन्द्रले उच्च नश्लका राँगो र साँढेको बीर्य सङ्कलन गरेर देशव्यापी रूपमा बीर्य पठाउने गरेको छ । केन्द्रमा हाल आठवटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको बीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ ।
बीर्यको प्रतिएक डोजको मूल्य २५ रुपियाँ राजस्व लिने गरेको र त्यसका लागि आवश्यक उपकरण र सेवा भने प्राविधिकले लिने गरेका छन् । बोकाको भने एक वर्षदेखि दुई वर्षसम्मको बीर्यलाई गुणस्तरीय मानिन्छ । बोकाको एक पटक सङ्कलन गरिएको बीर्यबाट ३० वटा बाख्रालाई गर्भधारण गराउन सकिने सूचना अधिकारी नेपालीले बताउनुभयो । एउटा बोकाले पाँच हजार बाख्रालाई गर्भधारण गराउन सक्ने बीर्य उत्पादन गर्छ ।
मुलुकभर कृत्रिम गर्भधारण कार्यक्रम ६९ जिल्लामा विस्तार भएको छ । कृत्रिम गर्भधारण गराउन दक्ष प्राविधिकले घरमा पुगेर सेवा प्रदान गर्ने भएकाले कृषकले यसलाई निकै सजिलो मानेका छन् । यो सेवा प्राकृतिक गर्भधारण गराउने कार्यभन्दा सस्तो पनि छ ।
दूरीको आधारमा प्राविधिकले घरमै पुगेर सेवा दिएको पाँच सय रुपियाँदेखि एक हजार रुपियाँसम्म लिने गरेका छन् तर प्राकृतिक गर्भधारण गराएको साँढे र राँगा धनीले एक हजारदेखि दुई हजार रुपियाँ लिने गरेका गोरखापत्र अनलाइनमा उल्लेख छ ।
कृत्रिम गर्भधारणपछि जन्मिएको पशुको उत्पादन दिने क्षमतामा वृद्धि हुने, प्राकृतिक गर्भधारणमा जस्तो रोग सर्ने जोखिम कम हुने भएकाले यो उपयोगी रहेको पशु प्राविधिक सुकदेव थपलिया बताउनुहुन्छ ।