हुम्ला, चैत ३ : सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई भाडा बढेसँगै आमजनताको जनजीवन प्रभावित भएको छ । आवतजावतमा मात्रै नभएर दैनिक उपभोग्य वस्तुदेखि निर्माणसामग्रीसमेत ढुवानीमा हवाईमार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा रहेका यहाँका बासिन्दा हवाई भाडा वृद्धिसँगै मूल्यवृद्धिको मारमा परेका छन् ।
स्थानीय राजबहादुर बोहराले बजार मूल्यमा धान्नै नसक्नेगरी वृद्धि भएको बताउनुभयो । अहिले उत्तरी हुम्लामा प्रत्येक सामग्रीको मूल्य आकासिएको बताउँदै उहाँले सडक यातायात नजोडिएका कारण हवाई भाडामा सहुलियत दिनुपर्ने माग गर्नुभयो ।
हवाई भाडा वृद्धिसँगै प्रतिकार्टाेन (१० लिटर) तीन हजार नौ सय रुपियाँ मूल्य पर्ने खानेतेल धारा तेलको मूल्य अहिले चार हजार दुई सय रुपियाँ पुगेको छ ।हुम्ला उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीका अनुसार इन्धनको मूल्यवृद्धिको मारमा उपभोक्ता परेको बताउनुभयो । उहाँले प्रत्येक सामानको सातदेखि १० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेको जानकारी दिनुभयो । हवाई भाडा वृद्धिले व्यापारीले स्वाभाविक रूपमा मूल्यवृद्धि गरेको बताउँदै उहाँले दुर्गम र सडक यातायात नजोडिएको नाताले हवाई ढुवानीमा सरकारसँग अनुदानको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
सिमकोटबाट नेपालगञ्जका लागि यसअघिको हवाई भाडादरमा समेत वृद्धि भएको छ । यात्रु जगवीर रोकायाले यसअघि बढीमा छ हजार १५० रुपियाँ तिर्दै आएकोमा अहिले त्यो बढेर छ हजार ८२० रुपियाँ पुगेको सुनाउनुभयो । त्यस्तै, केही दिन अगाडिसम्म ११ हजारमा पाउने नेपालगन्ज सिमकोट टिकट दर ११ हजार ८५५ रुपियाँदेखि ११ हजार ९०५ रुयिपाँसम्म पुगेको छ ।
यो निजी एयरलायन्सले फरक–फरक भाडादर निर्धारण गरेर यात्रुबाट असुल्दै आएका छन्, जब कि यसअघि इन्धनको मूल्यवृद्धि नहुँदासम्म बढीमा प्रतियात्रु ११ हजार एक सय रुपियाँसम्म भाडा लाग्ने गथ्र्याे । तारा एयर नेपालगञ्जका प्रमुख दिलीप कार्कीले इन्धनको मूल्यवृद्धिसँगै हवाई र कार्गो भाडादर वृद्धि भएको बताउनुभयो । कार्गो दर पनि प्रतिकेजी ११० रुपियाँदेखि १३० रुपियाँसम्म पुगेको व्यापारीले बताउँदै आएका छन् ।