नेपाल-भारतका सुरक्षा अधिकारी द्वारा सीमा क्षेत्र निरीक्षण

  चैत ०२, २०७८

इनरुवा, चैत २ : नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गर्नुभएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिनुभयो ।

पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बरसम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तभको अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी र नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रको निरीक्षण गरिएको प्रजिअ यादवले जानकारी दिनुभयो ।

तीन नाल भरुवा बन्दुकसहित दुई पक्राउ

सुनसरीको सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देवीथानका २७ वर्षीय मोहन श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा प्रहरीचौकी भरोलबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसिरहेका माझी र श्रेष्ठलाई लोड भएको तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया