काठमाडौँ, चैत ५ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार सम्पन्न सचिवालय बैठकले ‘कोभिड–१९’ को संक्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिएर माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्नेलगायत उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको ‘कोभिड– १९’ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णयप्रति प्रशंसा गरेको छ ।
बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपणका लागि उनलाई बधाई दिँदै संलग्न चिकित्सक र मिर्गाैला दातालाई धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।