तनहुँका किसानले सुन्तला बिक्रीबाट २५ करोड आम्दानी गरे

  फागुन ३०, २०७८

तनहुँ, फागुन ३० : चालू आर्थिक वर्षमा तनहुँका कृषकले सुन्तला बिक्री गरेर २५ करोड रुपियाँ आम्दानी गरेका छन् । तनहुँका छ स्थानमा रहेका सुन्तला ब्लक र कृषकका बगैँचामा यस वर्ष आठ हजार ५८० मेट्रिक टन सुन्तला उत्पादन गरी उक्त आम्दानी गरेको कृषि ज्ञान केन्द्र, तनहुँका कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा एक हजार ७५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ भने एक हजार ४५० हेक्टरमा उत्पादन हुँदै आएको छ ।

केन्द्रका कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले यस वर्ष सुन्तलाको उत्पादन वृद्धि भएको बताउनुभयो । व्यास नगरपालिकाको पोखरीभञ्ज्याङ, म्याग्दे गाउँपालिकाको उमाचोक, नाम्सीकोट, देवघाट गाउँपालिकाको वडा नं. ३ र ४, दुभुङ, अर्चल्दीलगायतका क्षेत्रमा सुन्तला खेती फस्टाएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष तनहुँमा २४ करोड रुपियाँको सुन्तला बिक्री भएको थियो । सुन्तलाको फल लाग्ने समयमा पर्याप्त वर्षा हुनुका साथै असिना कम परेकाले यस वर्ष उत्पादनमा वृद्धि भएको केन्द्रले जनाएको छ । सुन्तला खेतीको राम्रो सम्भावना रहेको यस जिल्लामा विभिन्न क्षेत्रमा रहेका सुन्तला पकेट क्षेत्रलाई ब्लकका रूपमा विस्तार गरी प्रवद्र्धन गर्न थालिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकमा रहेको सुन्तला उत्पादक ब्लक समिति, शुक्लागण्डकी नगरपालिका–११, नाम्सीकोटको सुन्तला जात फलफूल उत्पादक ब्लक सञ्चालक समिति, व्यास नगरपालिका–१३ मा रहेको सुन्तला ब्लक समिति, देवघाट गाउँपालिकामा घण्टाचुली बहुउद्देश्यीय कृषक समूह र आँबुखैरेनी गाउँपालिकामा पतेनी सुन्तला उत्पादक कृषक समूह रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष ऋषिङ गाउँपालिका–३ मा पनि सुन्तला उत्पादन ब्लक निर्माण गरिएको छ ।

सुन्तला उत्पादनको सम्भावित क्षेत्रका कृषकलाई आवश्यक तालिमसहित बीउबिरुवा अनुदान लिएर सुन्तला खेती गर्न प्रोत्साहन गरिएको उहाँले जानकारी दिनुभयो । तनहुँको सुन्तला स्वादिष्ट हुने भएकोे काठमाडौँ पोखरा, नारायणगढलगायत प्रमुख सहरमा माग धेरै हुने गरेको छ । सुन्तलाका ठेकदार कृषकको बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।

एउटा ब्लकमा पाँच करोडको सुन्तला
तनहुँका अधिकांश सुन्तला ब्लकमा यस वर्ष दुई करोडदेखि पाँच करोड रुपियाँसम्म आम्दानी भएको छ । गत वर्ष राम्रो बजार भाउ पाउन नसकेका कृषकले यस वर्ष प्रतिकिलो ९० देखि ११० रुपियाँ थोक मूल्य लिएको म्याग्दे गाउँपालिका–२ को उमाचोक सुन्तला उत्पादक ब्लक समूहका अध्यक्ष निर्मल अधिकारीले जानकारी दिनुभयो । १५५ किसान आबद्ध रहेको यो समूहले यस वर्ष पाँच करोड रुपियाँ आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो ।

व्यास नगरपालिका–१३ मा रहेको ब्लकबाट मात्र यस वर्ष दुई करोड ५० लाख रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । ब्लक सञ्चालक समितिका अध्यक्ष खेमबहादुर थापाले यस वर्ष दोब्बर मूल्य लिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया