एट्लेटिको तेस्रो स्थानमा उक्लियो

  फागुन २८, २०७८

काठमाडौँ, फागुनन २८ : साविक विजेता एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोले बार्सिलोनालाई पछाडि पारेको छ ।

एट्लेटिकोकोे जितमा जोआओ फेलिक्स र रोड्रिगो डि पउलले गोल गर्नुभयो । काडिजका अल्भारो नेग्रेडोले सान्त्वना गोल फर्काउनुभएको थियो । तेस्रो मिनेटमै जोआओ फेलिक्सले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनु भएको थियो । पहिलो हाफको इन्जुरी समयमा काडिजका नेग्रेडोले अलफन्सो स्पिनोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

६८औँ मिनेटमा रोड्रिगो डि पउलले रिवाउन्ड प्रहारमा गोल गर्दै एट्लेटिकोलाई जिताउनु भएको थियो । ८८औँ विपक्षी एलेक्स फनान्डेजलाई फल गरेपछि एट्लेटिकोका जोभियर सेरानो राडो कार्ड पाउँदै बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । तरपनि काडिजले त्यसको फाइदा उठाउन सकेन ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको एट्लेटिकोले २८ खेलबाट ५१ अंक बनाएको छ । दुई खेल कम खेलेको बार्सिलोना ४८ अंक सहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको सेभियाको ५५ र शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ६३ अंक छ । पराजित काडिज २४ अंक सहित १८औँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया