टेस्लालाई चुनौती दिन संयुक्त रूपमा विद्युतीय कार बनाउँदै सोनी र होन्डा

  फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : दुई जापानिज कम्पनी सोनी र होन्डाले संयुक्त रूपमा विद्युतीय गाडी बनाउने भएका छन् । विद्युतीय सवारीसाधनको डिजाईन र बिक्री गर्नका लागि नयाँ कम्पनी बनाउने योजनासहित दुई कम्पनीबीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम द भर्जले उल्लेख गरेको छ ।

संयुक्त पत्रमा हस्ताक्षर गरे पनि नयाँ बन्ने कम्पनीको नाम भने खुलाइएको छैन । अज्ञात नामको यो नयाँ कम्पनीले सन् २०२५ सम्ममा पहिलो विद्युतीय गाडीको प्रोटोटाइप (प्रारम्भिक स्वरूप) सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

गाडी निर्माणका क्रममा होन्डाले गाडीको डिजाइन, विकास र बिक्री वितरण हस्तान्तरण गर्ने र सोनीले मोबिलिटी सर्भिस प्लेटफर्मको विकास गर्ने बताइएको छ । सोनीको इमेज सेन्सर, सञ्चार र मनोरञ्जन प्रविधिको प्रयोग गर्दै कार बनाउने र मार्केटिङ गर्ने होन्डाको विशेषज्ञतालाई संयोजन गर्ने उद्देश्यले यो साझेदारी भएको उल्लेख छ ।

सोनीका सीईओ केनिचिरो योशिदाले एक विज्ञप्तिमा होन्डासँगको सहकार्यको माध्यमबाट आफूहरू यातायात क्षेत्रलाई भावनात्मक रूपमा अगाडि बढाउँदै सुरक्षा, मनोरञ्जन र अनुकूलन केन्द्रित विकासमा योगदान दिन तयार भएको बताउनु भएको छ ।

त्यस्तै, होन्डाका सीईओ तोशिहिरो मिबेले नयाँ कम्पनीले ग्राहकहरूको अपेक्षा र कल्पनाभन्दा बढी मूल्य सिर्जना गर्न फराकिलो र महत्वाकाङ्क्षी दृष्टिकोण अपनाउदै विश्वभर नवप्रवर्तन, विकास र गतिशीलताको विस्तारमा अग्रपङ्क्तिमा उभिने लक्ष्य राख्ने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया