दोस्रो लिस्तिकोट दुगुनागढी ट्रेलरेस महतरालाई

  फागुन २१, २०७८

सिन्धुपाल्चोक, फागुन २१ : दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जित्नुभएको छ । खुलातर्फको प्रतियोगितामा महतराले दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबीस किलोमिटरको दूरी पार गरेर पहिलो हुनुभएको हो । एक सय १८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्नुभएका महतराले रु एक लाख १० हजार नगद पुरस्कार पाउनुभएको छ ।

प्रतियोगितामा दुई घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो हुनुभएको छ । उहाँले रु ७५ हजार नगद पुरस्कार पाउनुभएको छ भने तेस्रो सोलुखुम्बुका सुमन कुलुङले दुई घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गरेर तेस्रो हुनुभएको छ । उहाँले रु ५५ हजार पुरस्कार पाउनुभएको छ । चौथो, पाँचौ र छैटौँ हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई र याङदेव राईले क्रमशः रु ४०, ३० र २० हजार नगद पुरस्कार जित्न सफल हुनुभयो ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोका नीतु तामाङ प्रथम हुन सफल हुनुभएको छ । उहाँले तीन घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरी रु ६० हजार नगद पुरस्कार जित्नुभयो । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले रु ३५ र २० हजार पुरस्कार पाउनुभएको छ । जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय हुनुभएको छ । उहाँहरूले क्रमशः रु ३०, २० र १५ हजार पुरस्कार पाउनुभयो ।

जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनमा गत वर्षदेखि टे«लरेसको आयोजना हुँदै आएको छ ।

नेपाल–तिब्बतबीच भएको युद्ध ऐतिहासिक एवं सामरिकस्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचार–प्रसार एवं पर्यटकीय प्रवद्र्धनमा टेवा पु¥याउनका लागि यो आयोजना हुँदै आएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सहायक रथी महतले प्रतियोगिताले सहासिक खेलकुदको विकाससँगै सैनिक र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सामरिक महत्वको ऐतिहासिक दुगुनागढीको पहिचान नयाँ पुस्तामा हस्तान्तरण र पर्यटकी गन्तव्यको रूपमा चिनाउन टे«लरेसको आयोजना गरिएको पालिका अध्यक्ष पौडलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया