काठमाडौंं, फागुन २० : अष्ट्रेलियन क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई इतिहासकै सर्वाधिक उत्कृष्ठ क्रिकेटरका रुपमा लिइन्छ । उहाँको थाइल्याण्ड निधन भएको र मृत्युको कारण हृदयाघात भएको हुन सक्ने बताइएको छ ।
क्रिकेटर वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो । जारी विज्ञप्तिका अनुसार उहाँको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ ।
वार्नलाई उहाँकै भिल्लामा अचेत अबस्थामा फेला पारिएको र चिकित्सक टोलीले उहाँले बचाउन कोशिश गरे पनि त्यो सम्भव नभएको सीएनएनको समाचारमा जनाइएको छ । ‘उहाँ आफ्नै निवासमा अचेत अवस्थामा भेटिनुभएको थियो । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उहाँलाई ब्युँत्याउन सकिएन,’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।