काठमाडौँ, फागुन १८ : अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिनुभयो । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न निर्देशन दिनुभयो ।
उहाँले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उहाँले प्रष्ट पार्नुभयो ।
सो अवसरमा अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्ने समेत बताउनुभयो । “जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाइँहरू (धितोबोर्ड र नेप्सेका अधिकारी)ले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।”
उहाँले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिनुभयो । “म मन्त्रालयमा आउना साथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ”, उहाँले भन्नुभयो, “त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।”
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डो¥याउने विश्वास लिइएको बताउनुभयो । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताउनुभयो ।
धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्तालाई सुसूचित गर्ने बताउनुभयो । उहाँले साक्षरताकै अभावमा लगानीकर्ता हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताउनुभयो । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उहाँको भनाइ थियो । नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।