धनगढी, फागुन ९ : धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका खेलमा कञ्चनपुरको दोधाराको शारदा सरस्वती विद्यालय र काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल विजयी भएका छन् ।
पहिले खेलमा शारदा सरस्वतीले एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनायो । जवाफी ब्याटिङ गरेको एभरेष्ट एकेडेमीले १९।३ ओभरमा सबै विकेट गुमाएर एक सय रन मात्रै बनाउन सक्यो ।
एभरेष्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाए । बलिङतर्फ शारदाका अर्जुनसिंह साउदले चार विकेट लिए । यस्तै मिलन बोहराले दुई तथा विकास सुनार, हेमन्त धामी र राजेश साउदले एक÷एक विकेट लिए ।
यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा दुई छक्का र तीन चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ तथा सुनिल चन्दले १३ रन बनाए । बलिङतर्फ एभरेष्टका कृश ऐरले तीन विकेट लिए । आकाश चन्द र धर्म जोशीले समान दुई÷दुई तथा गोविन्द विष्ट र मुकेश ओझाले एक÷एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ हेमन्त धामी घोषित भए ।
यस्तै दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनायो । दुई सय सात रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सैनिकले १५।३ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
सैनिकका लागि सुरुआती ब्याट्सम्यान खडक बोहरा र प्रज्ज्वल थापाले ३।४ ओभरमा ३८ रनको साझेदारी गरे । थापाले ३६ तथा बोहराले २२ रन बनाए । यस्तै कमलेश विष्टले १३ र सागर चन्दले ११ रन बनाए । बलिङतर्फ हिमालयनका दीपक बोहराले पाँच, अनुप कुँवरले चार र सन्दीप शाहीले एक विकेट लिए ।
यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र चार चौकाको मद्दतमा ३२ बलमा ९२ रन बनाए । यस्तै वसन्तसिंह कार्कीले ४७, लक्की कडायत र एमएस थापाले समान १६÷१६, दीपक बोहराले १२ तथा रजत तिमिल्सिनाले अविजित १० रन बनाए । बलिङतर्फ सैनिकका गौतम केसीले दुई तथा कमलेस विष्ट, सैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले एक÷एक विकेट लिए । उक्त खेलको ‘प्लेयर अफ दी म्याच’ नारायण जोशी घोषित भए । मङ्गलबार लिटल फ्लावर र गुरुकुल तथा विद्याभुषण र स्टेपिङ स्टोनबीच खेल हुने आयोजकले जनाएको छ ।