ब्याजदर बृद्धिको निर्णयले अर्थतन्त्रमा थप जोखिम बढ्योः परिसंघ

  फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको ब्याजदर बृद्धिको निर्णय आउनु अनपेक्षित भएको नेपाल उद्योग परिसंघले जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै परिसंघले अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिइरहेको समयमा ब्याजदर बृद्धिको निर्णय आउनु अनपेक्षित भएको बताएको हो ।

अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुले सक्दो प्रयास गरिहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर बृद्धिको निर्णय आउनुले अर्थतन्त्र थप जोखिममा पर्ने संकेत गरेको भन्दै परिसंघले आपत्ती जनाएको हो ।

‘ब्याजदर बृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान हुने अवस्था देखिँदैन। यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायीत्वमा जोखिम बढ्ने हाम्रो बुझाई रहेको छ,’ परिसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

यसको प्रत्यक्ष प्रतिकूल असर कोभिडलगायत विविध कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा पर्ने भन्दै परिसंघले चिन्ता व्यक्त गरेको छ ।

ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्ने उल्लेख गरिएको छ । यसले उपभोक्ताहरूलाई समेत नकारात्मक असर पर्ने वर्तमान अवस्थामा शिथिल प्राय भएका उद्योग व्यवसाय थप कमजोर बन्ने परिसंघले जनाएको छ । मुलुकको अर्थ व्यवस्था जोगाउन सचेत हुनुपर्नेतर्फ परिसंघले आग्रह गरेको हो ।

सरकारी स्वामित्वका ठूला बचत कर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै ब्याजमा कायम राख्दा बजारमा देखा परेको ब्याज बढाउने प्रतिस्पर्धामा केही कमी आउने वरिसंघको बुझाई छ।

विद्यमान संकटको समयमा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूले पूरा गर्नुपर्ने नियमनकारी अनुपातहरूलाई केही समयका लागि खुकुलो बनाउन आवश्यक रहेको औँल्याएको छ। यसले तरलता व्यवस्थापनमा सहजता भइ लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगलाई राहत पुर्‍याइ रोजगारी सिर्जनामा समेत सहयोग गर्ने परिसंघको विश्वास छ।

तपाईको प्रतिक्रिया