फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

  माघ २७, २०७८

काठमाडौँ, माघ २७ : नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयताअनुसार नेपाल समग्रमा १६७औँ स्थानमा छ । यसअघि नेपाल १६९औँ स्थानमा थियो ।

नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि भारत र माल्दिभ्स रहेको छ । भारत समग्रमा १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छ । यसैगरी बंगलादेश १८६औँ, भुटान १८५ औँ, पाकिस्तान १९७ औँ र श्रीलंका २०४औँ स्थानमा छ । नेपालले हालै दक्षिण अफ्रिकी मुलुक मोरिसससँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

दुवै खेलमा नेपाल १–० गोलले विजयी भएको थियो । सोही आधारमा नेपालले वरियतामा सुधार गरेको हो । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो र इङ्ल्यान्ड पाँचौँ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया