काठमाडौँ, माघ २८ : केही दिनदेखि दक्षिण कोरियामा पुन: कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाल लगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको हो ।
१४ फेब्रअरीमा तय भएको नियमित उडान तालिका समेत स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भएको थियो ।
रोकिएका श्रमिकहरुको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।
साथै त्यहाँ रहेका नेपालीलाई पनि संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।