मुम्बई, माघ २३ : प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उहाँ हप्तौँदेखि सघन उपचार कक्षमा हुनुहुन्थ्यो । उपचारका क्रममा नै आइतबार बिहान उहाँको निधन भएको हो ।
मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो र उहाँले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिक रूपमा आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुवाबाट सांगीतिक तालिम शुरु गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको“ बताउनु भएको छ । मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गरेको र उहाँले “दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको बताउनुभएको छ ।
लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको समेत भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उहाँको परिवार मुम्बईमा बसाई सार्नु पर्यो ।
सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उहाँलाई निमन्त्रणा गरिएको थियो । उहाँले “ओ द पिपल अफ माइ कन्ट्री“ को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू आँसु झार्नुभएको थियो ।
उहाँले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजार भन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उहाँले ३६ भाषामा २७ हजार भन्दा बढी गीत गाउनु भएको छ ।
सन् २००१ मा उहाँले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गर्नुभएको थियो । सन् २००४ मा उहाँको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले “मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ भनेर लेख्नुभएको थियो ।’’
मङ्गेशकरले विवाह भने गर्नुभएन । उहाँकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुनुहुन्छ । लताले नेपाली भाषामा पनि गीत गाउनुभएको छ ।
लता मंगेशकरको निधनमा दुई दिने राष्ट्रिय शोक
भारतीय पुस्ताका लागि सङ्गीत र धुन परिभाषित गर्ने गायिका लता मंगेशकरको निधनमा दुई दिने ‘राष्ट्रिय शोक’ मनाइने भएको छ । केन्द्रीय गृह मन्त्रालयले राज्यका मुख्य सचिवहरूलाई पठाएको सन्देशलाई उद्धृत गर्दै उहाँहरुले भन्नुभएको छ, ‘फेब्रुअरी ६ देखि फेब्रुअरी ७ सम्म भारतभर राष्ट्रिय झण्डा आधा झुक्नेछ ।’
केन्द्र सरकारले दिवंगत महानुभावको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुईदिने राजकीय शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरेको उहाँहरुले बताउनुभयो ।
उहाँलाई गत जनवरीका सुरुमा कोरोना सङ्क्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए ।
जनवरी २८ तारिखमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो ।