काठमाडौँ, माघ २१ : बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले उपाधि विजेता महिला टोलीका १२ खेलाडीलाई ५\५ लाख रुपियाँ र टोलीका प्रशिक्षक र सहायक प्रशिक्षकलाई तीन तीन लाख तथा एक जना व्यवस्थापकलाई दुई लाख रुपियाँसहित सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल सङ्घका पदाधिकारी लगायतको उपस्थिति थियो ।
नेपाली महिला टोलीले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन उपाधि जितेको हो । फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । पुरुषतर्फ भने नेपाल चौथो भएको थियो । सरकारले यसअघि घोषणा गरे अनुसार खेलाडीलाई शुक्रबार पुरस्कृत गरेको हो ।
फुटबल प्रशिक्षक अल्मुताइरी पनि सम्मानित
सोही अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि प्रधानमन्त्री देउवाले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ । माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीलाई सरकारले यसअघि नै जनही ५ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको थियो ।
त्यतिबेला प्रशिक्षक अल्मुताइरी नेपाल बाहिर हुनुभएकोले उहाँलाई शुक्रबार तीन लाख रुपियाँसहित सम्मान गरिएको हो । सो अवसरमा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय पनि उपस्थित हुनुहुन्थ्यो ।
ब्याडमिन्टन स्टार प्रिन्सलाई सरकारको सम्मान
ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई पनि शुक्रबार सरकारले सम्मान गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्सलाई सम्मान गर्नुभएको हो । सरकारले प्रिन्सलाई विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) को विश्व वरीयतामा यू–१९ पुरुषतर्फ शीर्षस्थानमा उक्लिएर इतिहास रचेको कारण सम्मान गरेको हो ।
बीडब्लुएफले गत पुसमा सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लनुभएको थियो । यसअघिको वरीयतामा प्रिन्स तेस्रो स्थानमा हुनुहुन्थ्यो। बीडब्लुएफले सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन गरेको थियो ।