काठमाडौं, पुस १५ : नेपाल भारोत्तोलन संघको आयोजनामा २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लब र विभिन्न २० जिल्लाकागरी २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा करिवा २ सय खेलाडी सहभागी हुनेछन् । जुनियर/सिनियर तथा युथ पुरुष/महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुनेछ ।
भारोत्तोलन संघका अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गर्नुभयो । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।