विराटनगर, पुस ४ : कुनै बेला विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको आरोहण गर्दा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले प्रयोग गरेको पदमार्ग अहिले मुन्धुम मार्गको नामले चर्चामा आएको छ । प्रदेश १ सरकारले यस मार्गलाई प्राथमिकतामा राखेर पर्यटकीय पूर्वाधार निर्माण गर्नेदेखि आवश्यक प्रचारप्रसार गरेपछि पछिल्ला दिनहरूमा यो मार्गले चर्चा पाएको हो ।
प्रदेश १ सरकार, स्विस सरकार र पदमार्ग क्षेत्रमा पर्ने खोटाङ तथा भोजपुरका छवटा स्थानीय तहको संयुक्त लगानीमा उक्त मार्गको कुल ८८ किलोमिटर क्षेत्रमध्ये ६२ किलोमिटर क्षेत्रमा २१ करोड रुपियाँ लगानी गरी पदमार्गलगायत खानेपानी, विश्राम स्थल र तथा बासस्थानजस्ता भौतिक पूर्वाधार निर्माण गर्ने काम गत असार महिनामा सम्पन्न गरिएको छ ।
पदमार्ग क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोरोना महामारीका कारण गत वर्ष उक्त क्षेत्रमा आउने पर्यटक प्रभावित भए पनि यस वर्षको भदौ महिनादेखि आन्तरिक पर्यटक आइरहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुव राईले बताउनुभयो ।
पूर्वाधार निर्माणसँग प्रचारप्रसारसमेत पर्याप्त मात्रमा भएकाले उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक पनि आकर्षित हुन थालेका छन् । आगामी दिनमा यसले निकै ठूलो चर्चा पाउने र धेरै पर्यटकलाई आकर्षित गर्ने सम्भावना देखिएको पर्यटन अभियन्ता रमेश राईले बताउनुभयो । मेरापिक, आइसल्यान्ड पिक र होङकुचुली बेस क्याम्प हुँदै सगरमाथासम्म पुग्नलाई यो छोटो बाटो भएकाले पनि यसको प्रचार गरिनुपर्ने पर्यटन अभियन्ताहरूको भनाइ छ ।
यो पदमार्गले भोजपुरका टेम्केमैयुङ, साल्पा सिलिछो, भोजपुर र षडानन्द नगरपालिकाका, खोटाङको साकेला र केपिलासगढी तथा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका, सोलुखुम्बुको महाकुलुङ र सङ्खुवासभाको सिलिचङ गाउँपालिका गरी चार जिल्लाका नौवटा स्थानीय तहलाई जोडेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो नयाँ गन्तव्यको पहिचान टेम्केमैयुङ–साल्पा सिलिछो पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो । यो पदमार्ग रमणीय प्राकृतिक दृश्यका लागि मात्र नभएर नयाँ खालको सामाजिक जीवनशैली र संस्कृति, विभिन्न जातिका वनस्पति, चराचुरुङ्गी तथा दुर्लभ वन्यजन्तु बासस्थान पनि भएकाले त्यसको अध्ययन र अनुसन्धान गर्ने हिसाबले पनि निकै महŒवपूर्ण गन्तव्य बन्न सक्ने बताइन्छ ।
खोटाङको दिक्तेलबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर र खोटाङको सीमा क्षेत्रमा पर्ने चखेवा भञ्ज्याङ (२,३०० मि.)बाट सुरु हुने यो पदमार्ग धोत्रेदेउराली, हाँसपोखरी, सातदोबाटो, ह्याकुले र साल्पापोखरी (३,७५० मि.) हुँदै सिलिचुङ डाँडा (४,१५३ मि.)मा गएर टुङ्गिन्छ । उक्त पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेकाले किराती जीवनशैली, संस्कार र संस्कृतिबारे अध्ययन अवलोकन गर्न सकिन्छ । त्यसैले यो पदमार्गको नाम मुन्धुम मार्ग राखिएको हो ।
प्राकृतिक सौन्दर्य
हिमालको फेदीसम्म पुग्न र अत्यन्तै चिसो मौसमको सामना गर्न सक्ने जोसुकै र जुनसुकै हावापानीमा रहेका पर्यटकका लागि पनि यो पदमार्ग उपयु्क्त छ । चिसो लेकाली भू–भाग, दम्साइलो उकालो, थकानलाई मेटाउने मनोरम प्राकृतिक दृश्य र सजिलो बाटो भएकाले सबैखाले पर्यटकले यो पदमार्गलाई आफ्नो गन्तव्य स्थल बनाउन सक्छन् । वर्षको बाह्रै महिना यात्राका लागि उपयुक्त मौसम हुने यस क्षेत्रमा पदमार्गीले आफू अनुकूलको मोैसम छनोट गर्न सक्ने अवस्था रहेको स्थानीय साल्पा सिलोछो गाविसका अध्यक्ष महेश राई बताउनुहुन्छ ।
छ्याङ्ङ खुलेका सेता हिमालको सौन्दर्यमा रमाउने पर्यटकका लागि थकानको महसुससमेत नहुने गरी डाँडैडाँडा हिँडिरहूँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छवटा हिमाल, ३३ भन्दा बढी हिमशृङ्खला र तराईको भू–भाग अवलोकन गर्न सकिन्छ । यति मात्र होइन यात्राका क्रममा ठाउँठाउँमा भेटिने अनेकौँ चौँरीखर्क र भेडीगोठ, राई र शेर्पा जातिको बस्ती, आफ्नै जातीय भेषभूषामा सजिएका स्थानीय बासिन्दासँगको हेलमेल, उनीहरूकै संस्कृति, चालचलन र व्यवहारले पदयात्रीलाई छुट्टै आनन्द दिन्छ ।
जीवजन्तु र वनस्पति
पहाडको शिरैशिरको यो पैदल यात्रामा दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुसको जङ्गल र लोक्ताका झाडी, सिरसिरे चिसो बतास, बाघ भालु, चितुवाजस्ता जङ्गली जनावरसँग ठाउँठाउँमा हुने जम्काभेट, ४५ भन्दा बढी जातका जङ्गली चराको चिरबिरे सङ्गीतले पनि यात्रालाई अझ आनन्दित बनाउँछ । अझ ग्रीष्मदेखि वर्षा ऋतुमा यस क्षेत्रमा पाइने मौसमी अवस्था (घाम, पानी, झरी र बादल)को लुकामारीका दृश्य, खर्कमा चर्न निस्किएका चौँरी, घोडा र भेडाका बथान, चौँरी र घोडा चराउन गाउँ छाडेर खर्कमा आएका गोठालाको जीवनशैली यस पदमार्गका प्रमुख विशेषता हुन् ।
ग्रीष्म ऋतुमा भीरपाखामा देखिने भीरमौरीको गोलो र प्राकृतिक रूपमै देख्न र अनुभव गर्न पाइने ‘हनी हन्टिङ’, विश्वमै दुर्लभ मानिएको हाबे्र (रेडपाण्डा)का बथान, आफ्नो आहाराका लागि हिमाली चिलले गर्ने मृगको सिकारजस्ता अनौठा दृश्य अवलोकन र अनुभव यो मार्गमा सहजै गर्न पाइने स्थानीय साल्पा सिलिछो गाउँपालिकाकी उपाध्यक्ष धनमाया राईले बताउनुभयो ।
जीवनशैली र व्यवहार
यो मार्गमा विभिन्न जातजातिको संस्कृति, चालचलन र जीवनशैली अवलोकन गर्न पाइन्छ तर पनि यो पदमार्ग अधिकांश किरात बस्ती भएर गएको छ । त्यसैले पद मार्गभरि किरात जीवनशैली, संस्कार र संस्कृतिसँग साक्षात्कार हुन पाइन्छ । राई र शेर्पा समुदायको धर्म, संस्कृति र परम्परा नजिकबाट नियाल्न सकिन्छ ।
स्थानीय राई र शेर्पा संस्कृतिसँग जोडिएका साकेला थान, चौतारी, माने (छोर्टेन), थुम्का र थुमले हिँडाइको थकानलाई सजिलै बिर्साइदिन्छ । पदमार्गको आसपासका बस्तीमा पाइने कोदो मकैका स्थानीय परिकारका स्वाद, राई र शेर्पा संस्कृति अनुसार पाइने सत्कारले पनि यहाँ पुगेका पर्यटकलाई अर्को आनन्द दिने टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रवती राईले बताउनुभयो ।
थप बजेट
पदमार्ग क्षेत्रका २६ किलोमिटर क्षेत्रमा पदमार्ग र अन्य पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा समेत प्रदेश १ सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको छ । बाँकी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि स्वीस विकास सहयोग संस्था (एसडीसी)लाई प्रस्ताप पठाई सकिएको प्रदेश १ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख शम्भुप्रसाद साह बताउनुहुन्छ ।
गोठबास संस्कृति : यो पदमार्ग क्षेत्रमा अहिले नै व्यवस्थित किसिमका होटलहरूको व्यवस्था र गाउँ बस्तीसमेत नभएका कारण पर्यटकका लागि गोठबासको व्यवस्थामा जोड दिइएको टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष इन्द्रवती राई बताउनुहुन्छ । पदमार्ग क्षेत्रमा गाउँबाट गाइबस्तु चराउन खर्क आउनेहरूले बनाएका गोठलाई व्यवस्थित बनाउने र स्थानीय गोठालालाई समेत पर्यटनमैत्री तालिम दिएर पर्यटकलाई गोठबासमा आकर्षित गर्ने अभियान सुरु गरिएको उपाध्यक्ष राईको भनाइ छ ।