तनहुँ, पुस ३ : पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी गरेर फनपार्क निर्माण गर्नुभएको हो ।
बन्दीपुरमा पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन फनपार्क बनाई शुक्रबारबाट सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका छन् । पर्यटक लोभ्याउन करिब साढे तीन करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको सञ्चालक पौडेलले जानकारी दिनुभयो । बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई फरक आनन्द दिन फन पार्क उपयुक्त हुने देखेर लगानी गरेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।
सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक पौडेलले जानकारी दिनुभयो । फनपार्कमा बाल उद्यान, पिङ, बगैँचामा फोटो खिच्न आकर्षक संरचना तयार गरिएको छ । यस्तै २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हलसहितको होटल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । गुणस्तरीय होटल तथा पार्कका कारण पनि बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटकको माध्यमबाट चहलपहल बढेको छ । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा ‘बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालनमा ल्याएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास भएको थियो ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रकोबीचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर रहेको छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकारको निर्माण पनि भइरहेको छ ।
पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजार नजिकै रहेको ठूलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार निर्माण गर्न लागिएको छ । लस्करै मिलेका मल्लकालिन झल्को दिने ढुङ्गाले छाएका घरहरु हातैले छोएजस्तो लाग्ने हिमशृङ्खला, दक्षिण एसियाकै ठूलो सिद्ध गुृफा, प्याराग्लाइडिङ, स्वच्छ तथा सफा वातावरण आदिले बन्दीपुर पर्यटकस्थ लबनेको छ ।