काठमाडौँ, मङ्सिर २९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाउनुभएको मन्त्रालयले जनाएको छ । पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानसँग छलफल भएको छ, उहाँको कुरा सुनेपछि मन्त्रालयले मूल्य निर्धारणको गृहकार्य सुरु गरेको छ । ”
सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्यप्रति क्विन्टल पाँच सय ४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएन । यस पटक ६५० रुपियाँ प्रतिक्विन्टल हुनुपर्ने आफूहरूको माग रहेको उखु उत्पादक कृषक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउनुभयो । मल, बीउ, ढुवानी खर्चदेखि कामदारको पारिश्रमिक दोब्बर वृद्धि भएका छन् तर उखुको मूल्य जस्ताको त्यस्तै रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले प्रतिक्विन्टल कम्तीमा १५० को दरले मूल्यवृद्धि गर्नुपर्छ भनी कृषि मन्त्रीलाई भनेका छौँ । उहाँले छलफल गरेर मूल्य निर्धारण गर्ने भन्नुभएको छ । ” गत वर्ष उखुको न्यूनतम लागत ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपियाँ ८९ पैसासहित कुल ४७९ रुपियाँ दुई पैसा तोकिएको थियो । त्यसमाथि सरकारले प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने गरेको छ ।
नेपालका करिब १८ वटा जिल्लामा उखु खेती हुन्छन् । त्यसमध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । सर्लाहीमा मात्र २२ हजार हेक्टरमा ११ लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । सबैभन्दा कम झापामा करिब आठ हजार मेट्रिकटनमात्र उत्पादन हुने गर्छन् । राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम बाराका अनुसार नेपालमा ३३ जातिका उखु उत्पादन हुन्छ ।