राखेपद्वारा हाइ पर्फमेन्स कमिटी गठन

  मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर २८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार सात सदस्यीय हाइ पर्फमेन्स कमिटी गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य सचिव स्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो ।

सात सदस्यीय कमिटीको सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक दीपकराज शाही, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा खेल विज्ञद्वय पार्थसारथी सेन गुप्त र सुमन डिसी हुनुहुन्छ । सचिवमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल हुनुहुन्छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा शसक्त सहभागिताका लागि खेलकुदलाई समयानुकुल सुधार गर्दै उद्देश्य प्राप्तीसहितको अन्तर्राष्ट्रिय सहभागिता अत्यन्त आवश्यक देखिएको हुँदा राखेपमा उपयुक्त प्रतिवेदन पेश गर्न ९ बुँदे कार्यदेश (टीओआर) सहित कमिटी गठन गरिएको राखेपले जनाएको छ ।

कार्यदेशमा आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने सम्भावित खेलगत पुष्ट्याइ र संख्या निर्धारण, एसियाली खेलकुदमा नेपालले खेलगत रुपमा सहभागी हुने खेलाडी संख्याको पुष्ट्याइसहित निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने खेलगत खेलाडीको स्वच्छ, निष्पक्ष र निर्विवाद रुपमा उत्कृष्ट खेलाडी र प्रशिक्षकको छनोट गर्नेलगायत विषय छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सामेबार बसेको समितिको बैठकले आवश्यक छलफल गर्न राष्ट्रिय खेल संघलाई बैठकका लागि आमन्त्रण गर्ने निर्णय गरेको सचिव दाहालले जानकारी दिनुभयो । बैठकमा राखेप सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय सहभागिताको नतिजामा सुधार, खेलाडी छनोट तथा खेलको पुष्ट्याइ, खेलाडी छनोट त्रूटिरहित हुनुपर्ने, प्रशिक्षकको स्तर वृद्धि र कुरा भन्दा नतिजामुखी काममा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया