प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

  मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ३३ केभी क्षमताका सवस्टेशनहरु निर्माण गरिने भएको हो ।

प्राधिकरणले आयोजना अन्र्तगत शुक्रबार महोत्तरीको बर्दिबास नगरपालिका–२ मा सबस्टेसनको शिलान्यास गरेको छ । सवस्टेशन निर्माणसँगै प्रदेश २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार हुने आयोजना संयोजक बोधराज ढकालले बताउनुभयो । आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत वितरण प्रणालीको सुदृढीकरण तथा पुनस्र्थापना र पूर्ण विद्युतीकरण गरिने उहाँले बताउनुभयो ।

सवस्टेशन निर्माणसँगै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने जनाएको छ । यससँगै प्राधिकरणले पाँच सय थान नयाँ वितरण ट्रान्सफर्महरु जडान गर्ने जनाएको छ ।

संयोजक ढकालले प्रदेश २ मा विद्युत वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारलाई ध्यान दिई आयोजनामार्फत वितरण प्रणालीलाई सुधार गर्न लागिएको बताउनुभयो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनालाई पाँच चरणमा विभाजन गरेर निर्माण सम्पन्न गर्ने जनाएको छ । यसका लागि प्राधिकरण र निर्माण कम्पनी टाटा प्रोजेक्टबीच गत चैतमा करिब चार अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।

३० महिना भित्रमा काम सम्पन्न हुनेगरी काम भैरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सन्दिपकुमारले बताउनुभयो । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित छ ।

तपाईको प्रतिक्रिया