विराटनगर, मङ्सिर १८ : अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल हुन सक्ने बताउनुभएको छ । उहाँले मोरङ व्यापार सङ्घको ६५औँ साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले हरेक राजनीतिक आन्दोलनका प्रमुख उद्देश्य मुलुकको आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर उकास्नु नै रहेकाले सबै पक्ष मिलेर काम गरेमा त्यो उद्देश्य हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले यतिबेला सरकारलाई निजी क्षेत्रको दरिलो साथ चाहिएको भन्दै उद्योमी व्यवसायीलाई दूरगामी प्रभावका योजना ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, राष्ट्रिय हित अनुकूल हुने जुनसुकै योजनामा पनि सरकारले साथ दिनेछ । लगानीको वातावरण सिर्जना गर्नेछ ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । सुनसरीको अमडुवामा रहेको ६३२ बिघा जमिनमा ‘क्रस बोर्डर औद्योगिक क्षेत्र’ बनाउनुपर्ने माग उद्योगी–व्यवसायीले राखेका थिए । अर्थमन्त्री शर्माले सरकार सडक र विद्युत् सञ्जाल विस्तार गर्न सरकार तयार रहेको बताउँदै उद्योगी–व्यवसायीले त्यसको प्रारूप गरेर ल्याएमा आगामी बजेटमा त्यसलाई सम्बोधन गरिने आश्वासन पनि दिनुभयो ।
अर्को एक प्रसङ्गमा अर्थमन्त्री शर्माले विराटनगरबाट पर्वतीय उडान भर्न सके छिमेकी देशका पर्यटक भित्र्याउन सकिने सम्भावना प्रबल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, उदयपुरमा सरकारले नयाँ पर्यटन केन्द्र बनाउने योजना अगाडि सारिसकेको छ । उहाँले आर्थिक उदारवादले असमानता बढाएकाले त्यसलाई केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रगतिशील पुँजीवादको अवधारणालाई प्राथमिकता दिनसक्दा मात्रै समाजवादउन्मुख अर्थव्यवस्था निर्माणमा सहयोग पुग्नेमा जोड दिनुभयो ।
कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योगी–व्यवसायीको सहयोगमा मात्रै अर्थतन्त्रलाई सुद्धृढ बनाउन सकिने बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना गर्ने औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकार निजी क्षेत्रसँगको सहकार्यमा बढ्ने बताउनुभयो ।
अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले पुँजी बजारको अस्वाभाविक वृद्धिलाई नियन्त्रण गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । दुई वर्षभित्रै दोब्बर अनुपातमा वृद्धि भएको सेयर बजारले उत्पादनमूलक क्षेत्रको लगानीलाई निरुत्साहित गर्नसक्ने उहाँको भनाइ थियो ।
सचिव मरासिनीका सीमित व्यक्तिलाई मात्रै लाभ हुने स्थितिको पुनर्मूल्याङ्कन गर्नुपर्ने जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश १ मा एक हजार छ मेघावाटको अप्पर अरुण आयोजना निर्माणका लागि विश्व बैङ्कसँग कुराकानी भइरहेको खुलासा पनि गर्नुभयो ।
कार्यक्रममा उद्योगी–व्यवसायीका प्रतिनिधिले पुँजीगत खर्च बढाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर विकासमा पछि पर्दै गएको गुनासो गर्दै विमानस्थल विस्तार र नयाँ औद्योगिक क्षेत्र विस्तारको काममा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।
सङ्घको ६५औँ साधारण सभासँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । साधारणसभाले निर्वाचन समिति गठन गर्ने र निर्वाचन समितिले साधारणसभा भएको एक महिनाभित्र निर्वाचन गरिसक्ने सङ्घको विधान रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याउने उद्योगी–व्यवसायीलाई सम्मानसमेत गरिएको थियो ।