काठमाडौं, मंसिर १ : कप्तान रुविना क्षेत्रीको अर्धशतकीय पालिको सहयोगमा नेपालले बुधबार दोस्रो टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा कतारलाई ६१ रनले हराएर तीन खेलको शृखंला जितेको छ । पहिलो दुई खेल जितेपछि नेपालले एक खेल अगाडि नै शृङ्खला आफ्नाे पक्षमा पारेको हो । नेपालको यो पहिलो टि२० अन्तर्राष्ट्रिय शृङ्खला जित पनि भएको छ ।
दोहास्थत वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । रुविनाले ४८ बलमा चार चौका र एक छक्कासहित ५० रन बनाउनुभयो । रुविनाको यो पहिलो टि२० अन्तर्राष्ट्रिय अर्धशतक भएको छ । यसैगरी कविता कुँवरले ३० बलमा दुई छक्का प्रहार गरेर ३१ रन तथा अप्सरी बेगमले अविजित २३ रनको उपयोगी पालि खेल्नुभयो । कतारका लागि एन्जेलिन मारेले दुई विकेट लिनुभयो ।
कतार लक्ष्य पछ्याउने क्रममा तीन बल बाँकी छँदै ६८ रनमा अलआउट भयो । कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन बनाउनुभयो । उहाँबाहेक केरी पाउनसेट (१५) कतारका लागि दोहोरो अङ्कमा रन बनाउने अर्की ब्याटर हुनुहुन्थ्यो । नेपालका लागि सरस्वती कुमारीले चार ओभरमा मात्र आठ रन खर्ची सर्वाधिक चार विकेट लिनुभयो । यसैगरी, कप्तान रुविनाले दुई तथा शबनम राई, कविता जोशी र संगिता राईले एक÷एक विकेट हात पार्नुभयो ।