काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उहाँहरुबीच भेट भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाइ खुशी लागेको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जानाउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “कोप २६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुशी लागेको छ, हामीले शेयर गरिरहेको हिमाली क्षेत्र जुन विशेष रुपमा जोखिममा छ त्यसको भविष्यका लागि दिगो विकास अपरिहार्य छ ।”
प्रधानमन्त्री देउवाले सन्देशमा अगाडि भन्नुभएको छ, “यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।” साथै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठीक ढङ्गले उठाउनुभएको भन्दै उहाँको प्रशंसा गर्नुभएको छ ।