एक हजार दक्ष जनशक्ति तयार पारिने

  असोज ०६, २०७८

काठमाडौँ, असोज ६ : ऊर्जा क्षेत्रमा पाँच वर्षमा एक हजार युवालाई दक्ष जनशक्ति तयार गरिनेभएको छ । इलोक्ट्रोनिक विषयमा हरेक जनशक्ति तयार गरेर देशका ग्रामीण क्षेत्रमा पनि ऊर्जासम्बन्धी दक्ष जनशक्ति पठाइनेछ ।

ऊर्जामन्त्री पम्फा भुसालले स्नाइडर इलेक्ट्रिक फाउन्डेसनले डन बोस्को इन्स्टिच्युटसँग साझेदारी गरी नेपालमा पहिलो उत्कृष्टता ऊर्जा केन्द्रको शुभारम्भ गर्दै सरकारले गरिबी न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले २० युनिटसम्म बिजुली उपयोग गर्ने जनतालाई निःशुल्क गरिएको र त्यसभन्दा माथि प्रयोग गर्नेलाई पनि सहुलियत दिएको बताउनुभयो ।

मन्त्री भुसालले राति बिजुली बाल्नेलाई कम पैसा र दिउँसो बिजुलीको प्रयोग गर्नेलाई बढी पैसा लिने तयारी भइरहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा जनशक्ति तयार गर्ने लक्ष्यसाथ स्थापना भएको केन्द्रले तयार पारेका जनशक्ति बेरोजगार बस्नु नपर्ने भन्दै उहाँले उत्कृष्ट कामका लागि डनबस्को इन्टिच्युटलाई धन्यवाद दिनुभयो ।

नेपाल डनबस्को सोसाइटीका अध्यक्ष अगस्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताउनुभयो । ऊर्जा क्षेत्रमा हरेक किसिमका जनशक्ति उत्पादन गरिने जानकारी दिँदै यसले देश विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डनबस्को इन्सिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत गर्ने बताउनुभयो ।

अत्याधुनिक उपकरण र सुविधासँगै, केन्द्र घर र भवन स्थापना, आधारभूत स्वचालन, घर स्वचालन र सुरक्षित निर्माण सञ्चालनको क्षेत्रहरूमा आगामी पाँच वर्षमा उत्पादित जनशक्तिले युवाहरूलाई व्यावसायिक प्रशिक्षण र सीप विकास प्रदान गर्ने उहाँको भनाइ छ ।

स्नाइडर इलेक्ट्रिक फाउन्डेसनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत मानव अधिकार हो भन्दै यसले धेरै रोजगारी सिर्जना र सीप विकास गर्ने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको बताउनुभयो ।

नेपालका लागि फ्रान्सका राजदूत गेल्स बोउर्डोले रोजगारी सिर्जना र सीप विकासका लागि सार्वभौमिक ऊर्जा पहुँचसँगै हुनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया