कठमाडौं, भदौ २६ : कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका झण्डै दोब्बरले कोरोनो सङ्क्रमित भएका छन् । पहिलो लहर सुरु भएको सन् २०२० अप्रिल २० देखि सन् २०२१ मार्चको २१ सम्म १८ वर्ष मुनिका २१ हजार ५२३ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार दोस्रो लहर सुरु भएको सन् २०२१ को अप्रिलदेखि यहि बिहीबारसम्मको तथ्याङ्क हेर्दा ४१ हजार एक सय ७० जना बालबालिका सङ्क्रमित भएका छन् । त्यस्तै, पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या पनि वृद्धि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिलो लहरमा कोभिडका कारण मृत्यु हुने बालबालिकाको संख्या ३८ थियो । तर दोस्रो लहर सुरु भएदेखि हालसम्म ४८ जना बालबालिकाको मृत्यु भएको छ । दोस्रो लहरको छ महिनामै ४८ बालबालिकाको मृत्यु भएको देखिएको छ ।
सिभिल अस्पतालका बालरोग विशेषज्ञ डा. सुदर्शन कोइरालाका अनुसार नेपालमा कोरोना भाइरस प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाहरुको संख्यामा पनि वृद्धि भएको उहाँको भनाइ छ । पहिलो लहरको भन्दा दोस्रो लहरको भाइरस बढी संक्रामक भएका कारण पनि बालबालिकाहरु बढी सङ्क्रमित भएको उहाँले बताउनुभयो । बच्चाहरुले कोभिडविरुद्धको खोप नलगाएको कारण पनि बढेको उहाँ बताउनुहुन्छ । नेपालमा हाल कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ । जुन बढी संक्रामक मानिन्छ ।
हालसम्म नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहमा मात्रै खोप लगाइएको छ । तर, सरकारले १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।