काठमाडौं, भदौ २१ : इंग्ल्याण्डले एन्डोरामाथि सहज जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले एन्डोरामाथि ४–० को जित हात पारेको हो ।
हँगेरीमाथि ४–० को जित हात पारेको टोलिमा इंग्ल्याण्डका प्रशिक्षक गैरेथ साउथगेटले ११ खेलाडी परिवर्तन गर्नुभएको थियो । लीड्स यूनाइटेडका स्ट्राइकर पैट्रिक बामफोर्डले ‘डेब्यु’ गर्नुभयो । जस्सी लिंगार्डले १८ औं मिनेटमा देब्रे खुट्टाले गर्नुभएको प्रहार गोलमा परिणत भएपछि इंग्ल्याण्डले सुरुवाती अग्रता लियो । तर गोल अन्तर दोब्बर पार्न इंग्ल्याण्डले करिब एक घण्टा लगायो । ७२ औं मिनेटमा हयारी केनले गोल गर्दै गोल अग्रतालाई दोब्बर पार्नुभयो ।
उहाँले बामफोर्डलाई प्रतिस्थापन गर्नुभएको थियो । उहाँले इंग्ल्याण्डका लागि ४० औं गोल पुरा गर्नुभयो । क्रिश्चियन गार्सियाले मेसन माउन्टलाई लडाउँदा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । उक्त अबसरलाई केनले गोलमा परिणत गर्नुभयो । लिङ्गार्डले ७८ औं मिनेटमा गोल थप्दा इंग्ल्याण्डले ३–० को अग्रता लियो । आर्सनलका बुकायो साकाले ८५ औं मिनेटमा गोल गर्दा इंग्ल्याण्डको एन्डोरामाथि ४–० को सहज जित दिलाउन पर्याप्त भयो ।