काठमाडौं, भदौ १२ : इन्टर मिलानले इटाली सिरी ए मा भरोनामाथि सहज जित हात पारेको छ । बेञ्चमा रहनुभएका जोकिन कोरेया मैदानमा प्रवेश गर्दा अन्तिम समयमा लगातार दुई गोल गरेर साबिक विजेता इन्टर मिलानको जित सुनिश्चित गर्नुभयो ।
इभान एलिकले समिर हन्डानोभिकको पासमा हस्तक्षेप गरेर नियन्त्रणमा लिनुभएको बललाई गोलको दिशा दिदा भरोनाले १–० को अग्रता लियो । उहाँले १५ औं मिनेटमा गोल गर्नुभयो । पहिलो हाफसम्म उक्त अग्रतालाई जोगाएको भरोनाले दोस्रो हाफमा कुनै गोल गर्न सकेनन । घरेलु टोली इन्टर मिलानले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेल १–१ को स्थितिमा ल्यायो । इन्टर मिलानका लागि लौटारो मार्टिनेजले बराबरी गोल फर्काउनुभयो ।
लाजियोबाट ऋणमा इन्टर मिलान आउनुभएका कोर्रेयाले मट्ट्ेओ डर्मिएनको क्रसलाई हेडरमार्फत् गोलको दिशा दिनुभयो । खेलको अघिल्लो दिन मात्रै इन्टर मिलानले अर्जेन्टाइन कोर्रेयासँग सम्झौता गरेको थियो । ८३ औं मिनेटमा पहिलो गोल गर्नुभएका कोर्रेयाले अतिरिक्त समयमा आफ्नो दोस्रो गोल थप्दा इन्टरले ३–१ को जित हात पार्न सफल भयो ।