काठमाडौं, भदौ ३ : इंग्ल्याण्डले भारत बिरुद्धको तेस्रो टेष्ट खेलका लागि डोम सिब्ली र ज्याक क्राउलीलाई टोलिबाट बाहिरको बाटो देखाएको छ । दोस्रो टेष्ट खेल भारतले जितेर पाँच खेलको टेष्ट श्रृखंलामा १–० को अग्रता लिएको छ । दोस्रो टेष्ट खेलमा इंग्ल्याण्ड १५१ नरको विशाल अन्तरले हार बेहोरेको थियो ।
भारत बिरुद्धको तेस्रो टेष्टका लागि १५ सदस्यीय टोलिको घोषणा हुँदा इंग्ल्याण्डले देविड मलानलाई स्थान दिएको छ । देविड मलान अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा शीर्ष स्थानमा हुनुहुन्छ । ३३ वर्षीय मलानले सन् २०१८ को अगष्ट यता इंग्ल्याण्डका लागि कुनै टेष्ट म्याच खेल्नुभएको छैन् । उहाँले हालसम्म १५ टेष्ट म्याच खेल्नुभएको छ । मलानले १५ टेष्ट खेलमा २७.८४ को औसतले ७२४ रन बनाउनुभएको छ । इंग्ल्याण्डका प्रमुख प्रशिक्षक क्रिस सिल्भरऊडले मलानले टेष्ट जगत्मा अबसर पाउनुपर्ने प्रतिक्रिया दिनुभएको छ ।
डोम सिब्लीले भने पछिल्लो चार पारीमा मात्र ५७ रन बनाउनुभएको छ । क्राउलीले भने पाकिस्तान बिरुद्ध अगष्ट २०२० मा २६७ रनको पारी खेल्नुभएको थियो । भारत बिरुद्धको पहिलो टेष्ट खेल्नुभएका उहाँले दोस्रो टेष्टमा अन्तिम एघारमा स्थान बनाउन सक्नुभएन । तीब्र गतिका बलर सकिब महमूदले स्थान बनाउनुभएको छ । स्पिनर ज्याक लिच बाहिरिनुभएको छ ।
आगामी बुधबारबाट तेस्रो टेष्ट हेडिंग्लीमा सुरु हुँदैछ । जोई रुट कप्तान रहने टोलिमा मोइन अलि, जेम्स एन्डरसन, जोनाथन बैरिष्टो, रोरी बर्नस, जोस बटलर, साम कर्रन, हसिब हामीद, डाँन लौरेन्स, सकिब महमूद, देविड मलान, क्रैग ओभर्टन, ओलिन पोप, ओलि रोबिन्सन र मार्क ऊड अटाउनुभएको छ ।