काठमाडौं, साउन २९ : लिभरपुलले डिफेन्डर भर्जिल भान डाइकको अनुबन्धन सम्झौता सन् २०२५ को ग्रीष्मकालसम्मका लागि थपेको छ । ३० वर्षीय भान डाइकसँगको लिभरपुलको सम्झौता सन् २०२३ सम्म कायम रहेको थियो । भान डाइकसँगै लिभरपुलले ट्रेन्ट अलेक्जेण्डर–आर्नोल्ड, फाबिन्हो र अलिस्सनसँग समेत नयाँ सम्झौता गर्दैछ ।
गएको संस्करणमा भान डाइकले मात्र पाँच खेलमा सहभागी हुनुभएको थियो । गत् अक्टोबर महिनामा चोटग्रस्त भएपछि उहाँ मैदान बाहिर जानुपरेको थियो । अभ्यास खेलमा जोडिनुभएका भान डाइकले सम्झौता थपिएपछि आफू अत्यन्तै खुशी र गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिनुभएको छ ।
नेदरल्याण्ड्सका सेन्टर ब्याक भान डाइकले लिभरपुलका लागि १३० खेल खेल्नुभएको छ । सन् २०१८ को जनवरीमा आबद्ध भए यता भान डाइकसहितको लिभरपुलले ९५ प्रिमियर लिग खेलमध्ये ७२ मा जित हात पारेको छ ।