काठमाडौं, साउन २६ : न्युजिल्याण्ड क्रिकेटले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलिको घोषणा गरेको छ । उसले भारत, बङ्गलादेश र पाकिस्तान भ्रमणका लागि समेत टोलिको घोषणा गरेको हो ।
पहिलो पटक टी ट्वान्टी विश्वकप जित्ने लक्ष्य लिएको न्युजिल्याण्डको टोलिको नेतृत्व केन विलियम्सनले गर्नुहुनेछ । आईसीसीको टी ट्वान्टी विश्व वरीयतामा शीर्ष दशमा रहेका तीन जना बलर इश सोढी, मिशेल सान्टनर र टिम साउदीले समेत टोलिमा स्थान बनाउनुभएको छ । ट्रेन्ट बौल्ट, लुसी फरगुसन, कायल जमीन्सन र टड्ड एस्ल समेत टोलिमा हुनुहुन्छ ।
ब्याटिङमा विलियम्सनसँगै मार्टिन गुप्टिल, डेभोन कोनवे, टिम सैफर्ट, ग्लैन फिलिप्स, मार्क च्यापमन, डैरेल मिशेल र जिम्मी निशम हुनुहुन्छ । तीब्र गतिका बलर एडम मिल्ने भने १६ औं खेलाडीको रुपमा टोलिमा स्थान बनाउनुभएको छ । तर उहाँलाई खेलाडी घाइते भएको वा बिस्थापित गर्नुपर्ने अवस्थामा मात्रै बोलाइनेछ । टी ट्वान्टी विश्वकप आगामी अक्टोबर १७ देखि यूएईमा सुरु हुनेछ ।