इलाम, साउन २५ : नेपाली अर्थाेडक्स चिया अन्तर्राष्ट्रिय बजारमा निकासीको राम्रो सम्भावना भएको कुरालाई ध्यान दिँदै व्यापार प्रवद्र्धन गर्न नयाँ परियोजना सुरु भएको छ । युरोपेली सङ्घको ईआईएफको सहयोग र नेपाल सरकारको सहकार्यमा चिया तथा कफी विकास बोर्डमार्फत करिब १७ करोड रुपियाँको परियोजना सुरु गरिएको हो ।
तयारी चिया उत्पादकलाई समेत अर्गानिक र गुणस्तरीयतामा निगरानी गर्दै विदेशी बजार व्यवस्थापनमा समेत सहयोग गर्ने परियोजनाको लक्ष्य रहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । पहिलो पटक चियाको नेपाली लोगो प्राप्त गरेका उद्योगबाट निगरानीको पाटोमा काम सुरु गरिने योजना रहेको भट्टराईले जानकारी दिनुभयो ।
“कोभिडका कारण परियोजना अगाडि बढाउन धेरै ढिलो भइसक्यो, अब भने काम निरन्तर हुनेछ,” भट्टराईले भन्नुभयो, “चिया किसानका २५-२५ जनाको समूह बनाएर सचेतना र तालिमका कार्यक्रम हुन्छन्, अब हामी गाउँ केन्द्रित हुनेछौँ ।”
सरकारी तवरबाट चिया क्षेत्रमा सञ्चालन भएको परियोजना यो नै पहिलो हो । अर्गानिक उत्पादन गर्न, अर्गानिक प्रमाणीकरण गर्न, आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गर्नेगरी सुरु भएको ‘नेपाल इन्क्रिज सस्टेनेबल टी एक्पोर्ट’ परियोजनाले नेपाली चियामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
परियोजनामार्फत नयाँ प्रविधिमा एउटा सफ्टवेयर जडान गरी त्यसबाट विदेशी बजारमा पुगेको चिया कुन बगान, कुन उद्योगबाट कुन कन्टेनरमार्फत त्यो बजारमा पुगेको हो भन्ने सजिलै पत्ता लगाइने डाक्टर भट्टराईको भनाइ छ ।
“यसअघि नेपालबाट निकासी भएको चियामध्ये थोरै परिमाणमा गुणस्तर कम भएको पाइए पनि नेपालको सबै चिया दोषी देखिन्थ्यो,” भट्टराईले भन्नुभयो, “अब हामी मार्केटिङको ट्रेसाब्लिटी सिस्टममा नेपाली चियालाई लाँदै छौँ । यसले जुन चिया कमसल छ, त्यसको पहिचान गर्न मद्दत गर्छ । बाँकी सम्पूर्ण नेपाली चिया बिक्रीयोग्य मानिनेछ ।”
किसानमुखी परियोजना भएकाले परियोजनामार्फत किसानलाई तालिमसहित गुणस्तरीय चिया उत्पादनमा चाहिने आवश्यक प्रविधि र मेसिनसमेत उपलब्ध गराइने बताइएको छ ।