डीडीसीले मन्त्रालयलाई गरायो यथार्थ जानकारी

  साउन २३, २०७८

काठमाडौँ, साउन २३ : दुग्ध विकास संस्थान म्याद गुज्रिएको बटरबाट बनेको घिउ बिक्री वितरण गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई यथार्थ जानकारी गराएको छ । डीडीसीले म्याद गुज्रिएको बटरबाट घिउ बनाएर बेचेको कुरा बाहिर आएपछि मन्त्रालयले त्यसको बारेमा यथार्थ जानकारी माग गरेको थियो ।

डीडीसीले म्याद गुज्रिएका बटर सम्बन्धमा यथार्थ जानकारी कृषि मन्त्रालयलाई गराएको तर समय अभावका कारण सो पत्र अध्ययन गर्न नसकेको मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले जानककारी गराउनुभयो । डीडीसीबाट ढिलो गरी पत्र आएको हो, समय अभावका कारण त्यसलाई अध्ययन गर्न पाएको छैन । आइतबार अध्ययन गरेपछि मात्र त्यसको बारेमा केही भन्न सकिन्छ, उहाँले भन्नुभयो, “डीडीसीले म्याद गुज्रिएको बटरबाट बनेको घिउ बिक्री भएको हो कि होइन, छानबिन गरेर मात्र थाहा हुन्छ । ”

डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले बाहिर हल्ला भएकोजस्तो बटरको म्याद नगुज्रेको बताउनुभयो । बटर कच्चा पदार्थ हो, कच्चा पदार्थको मापदण्डअनुसार त्यसको म्याद गुज्रिएको थिएन, त्यसको नजिकनजिक रहेको उहाँले बताउनुभयो । पोखराको सुजल डेरीबाट ल्याएको बटरका कार्टोनमा कुनैमा आठ महिना त कुनैमा १२ महिना मिति लेखिएको थियो, बाहिर हल्ला भएकोजस्तो मिति नगुज्रिएको जानकारी कृषि मन्त्रालयलाई गराएको उहाँले बताउनुभयो ।

मिति गुजारिएको बटरबाट बनाएको घिउ बेचेको कुरा बाहिर आएपछि कृषि मन्त्रालयले आफूहरूसँग यथार्थ जानकारी माग गरेको थियो । सोहीअनुसार शुक्रवार विस्तृत जानकारी गराएको उहाँले बताउनुभयो । बटरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार १८ महिनाको म्याद हुन्छ, त्यो अनुसार त थुप्रै समय बाँकी थियो तर कुनै कार्टोनमा आठ र कुनै १२ महिना लेखिएको थियो । त्यसका आधारमा यो हल्ला भएको तर बटरको गुणस्तर न्यून नरहेको उहाँले दावी गर्नुभयो । डेट स्पायरको नजिक पुगेको भन्न सकिन्छ तर डेट स्पायर भएको थिएन, उहाँले भन्नुभयो ।

यता, उपभोक्ता हित संरक्षण मञ्च नेपालले पनि डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दर्ता गराएको छ । म्याद गुज्रिएको बटर उपभोक्तालाई बिक्री गरेको प्रकरणमा मुछिएका डीडीसीका महाप्रबन्धक पौडेललाई कारबाहीको माग गर्दै मञ्चले निवेदन दर्ता गराएको हो । २०७७ असोज २७ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य भनी बिक्री गर्न रोक लगाएको एक लाख ९४ हजार किलो बटर दुग्ध विकास संस्थानले घिउ बनाएर बिक्री गरेको थियो तर विभागका महानिर्देशक उपेन्द्र रायले आफूहरूले बटरलाई अखाद्य होइन, गोदाममा व्यवस्थित नराखेको भन्दै अदालतमा मुद्दा चलाएको बताउनुभयो । 

तपाईको प्रतिक्रिया