खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

  साउन १६, २०७८

काठमाडौँ, साउन १६ : साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ ।

खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर बिक्री हुने दूध साउन १५ दिनको दिन २० देखि २१ लाख लिटर बिक्री भएको डेरी एसोसिएसनका नेपालमा अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

कोरोना महामारीअघि दैनिक करिब १० लाख लिटर दूध बिक्री हुन्थ्यो । कोरोना महामारी सुरु भएपछि दैनिक छदेखि सात लाख लिटरभन्दा बढी बिक्री भएको छैन । साउन १५ का दिन २० लाख लिटरभन्दा बढी दूध बिक्री भएको उहाँले बताउनुभयो । “कोरोना सुरु भएपछि दूध तथा दुग्ध पदार्थ बिक्री हुने दिन असार १५ र साउन १५ नै हो,” उहाँले भन्नुभयो, “कोरोना नहुँदा विवाह, व्रतबन्ध, चाडपर्वमा निकै बिक्री हुन्थ्यो तर कोरोना सुरु भएपछि चाडपर्व, विवाह, व्रतबन्धमा पनि बिक्री हुन छाडेको छ । अघिपछिभन्दा असार १५ र साउन १५ मा बढी बिक्री भएको छ । ” असार १५ मा दोब्बरभन्दा बढी दही बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

दुग्ध विकास संस्था (डीडीसी)ले साउन १५ मा देशभरि एक लाख ९२ हजार लिटर दूध बिक्री गरेको छ । अन्य सामान्य दिनमा ९९ हजार ५०० लिटर बिक्री हुने गरेको डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जिव झाले बताउनुभयो । कोरोनाअघि एक लाख लिटरको हाराहारीमा काठमाडौँ उपत्यकामै बिक्री हुन्थ्यो तर कोरोना महामारी सुरु भएपछि अहिले २५ देखि ३० प्रतिशत बिक्री घटेको उहाँले बताउनुभयो ।

दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरणमा वृद्धि गराउनका लागि खीर खाने दिनलाई विशेष दिनका रूपमा मनाउनका लागि खीर दिवस घोषणा गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले बताउनुभयो । उहाँले खीर परम्परादेखि खाइँदै आएको हो तर यसलाई विशेष रूपमा मनाउन थालेपछि दूध तथ दुग्धजन्य पदार्थको बिक्रीमा वृद्धि हुने विश्वास आफूहरूले लिएको बताउनुभयो ।

बोर्डद्वारा खीर दिवसको उपलक्ष्यमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उहाँले भन्नुभयो, “एक दिन दिवस मनाएर खीर खाँदैमा हुने बिक्रीले केही हुँदैन । ” दैनिक रूपमा कसरी खीर खाने, उपभोक्ता त्यसप्रति कसरी आकर्षित हुने भन्ने किसिमका कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव कृष्णप्रसाद आचार्यले खीर खाने दिवसलाई आममानिससमक्ष पु-याउनुपर्ने कुरामा जोड दिनुभयो । खीरको महिमा के हो, त्यसको महŒव के हो, यो कसरी पकाइन्छ, यो खाएपछि के हुन्छलगायतका विषयलाई प्रचारप्रसारमा ल्याउनुपर्ने बताउँदै उहाँले खीरका लागि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सोही मन्त्रालयका सहसचिव डा. विमल निर्मलले दूधको खीर खाने परम्परा धेरै पुरानो हो । सहर बजारको भोजभतेरमा पनि खीर खाने चलन थियो तर त्यो बिस्तारै हराउँदै गएको बताउनुभयो । खीर खाने दिनलाई दिवसकै रूपमा मनाउन थालेपछि खीर खाने उपभोक्ता वृद्धि हुने कुरामा आफूले विश्वास लिएको बताउनुभयो । खीर दिवसले गर्दा उत्पादन र उपभोक्ताबीचको दूरी कम हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया