काठमाडौं, साउन १२ : नेपालका पौडीबाज एलेक्जेण्डर शाहले टोकियो ओलम्पिक २०२० मा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उहाँले पौडीमा पुरुष १०० मिटर फ्री स्टाइलमा एक सय मिटरको दूरी ५३.४१ सेकेण्डमा पुरा गर्नुभयो । यसअघि तेह्रौ दक्षिण एशियाली खेलकूदमा उहाँले ५४.१३ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो ।
टोकियो ओलम्पिकको पहिलो हिटमा एलेक्जेण्डर प्रथम हुनुभयो । बाँकीको आठ हिटमा एलेक्जेण्डर अन्तिम आठमा समेत पर्नुभएन । समग्रमा उहाँ ५९ औं स्थानमा चित्त बुझाउनुपर्यो । कुल ७० जना सहभागीमध्ये उत्कृष्ट १६ जना सेमीफाइनलमा पुगेका छन् ।
पहिलो हिटमा कोसोभोका कोन्डिरोली ओल्टले उक्त दूरी पार गर्न ५४.३३ सेकेण्ड लगाउनुभयो । प्यालेष्टाइनका बव्वाब याजनले ५४.५१ सेकेण्ड लगाउनुभयो । उक्त स्पर्धामा इटाली, अमेरिका, जापान, अष्ट्रेलिया, यूक्रेनका पौडीबाज अन्तिम आठमा पुगेका छन् ।