काठमाडौं, साउन २ : वेष्टइन्डिजले अष्ट्रेलिया बिरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले जितेको छ । घरेलु टोलिले पाँचौं तथा अन्तिम टी ट्वान्टीमा अष्ट्रेलियालाई १६ रनले हराएको हो । लगातार तीन टी ट्वान्टी हारेको अष्ट्रेलियाले चौथो टी ट्वान्टी खेलको अन्तिम ओभरमा जित हात पारेको थियो ।
वेष्टइन्डिजले प्रस्तुत गरेको २०० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १८३ रन जोडेपछि ऊ १६ रनले हार बेहोर्नपुग्यो । अष्ट्रेलियाको ब्याटिङमा कप्तान आरोन फिञ्चको ३४ र मिशेल मार्शको ३० रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । वेष्टइन्डिजका लागि शेल्डन कट्रेल र आन्द्रे रस्सैलले सामान तीन तीन तथा हेडन वाल्शले एक विकेट लिनुभयो ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेष्टइन्डिजले पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा १९९ रनको सम्मानजनक योगफल तयार गरेको थियो । वेष्टइन्डिजका लागि ओपनर एभिन लेविसले सर्बाधिक ७९ तथा निकोलास पूरनले ३१ रन बनाए । अष्ट्रेलियाको बलिङमा एन्ड्रयु टाइले सर्बाधिक तीन तथा एडम जाम्पा र मिशेल मार्शले सामान दुई दुई एवम् मिशेल स्वेप्सनले एक विकेट लिए । एभिन लेविस प्लेयर अफ द् म्याच तथा हेडन वाल्श प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।