‘अर्थको निर्देशनअनुसार नै मस्यौदा तयार’

  असार २४, २०७८

काठमाडौँ, असार २४ : नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भएको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले रणनीतिक साझेदार भिœयाउने प्रक्रियाका लागि अवधारणा पत्र पेस गर्न दिएको निर्देशनअनुसार नै गरिएको उल्लेख गरेको हो । निगममा रणनीतिक साझेदार भिœयाउने सरकारको प्रयास रहे पनि यसलाई निजीकरण गर्न लागिएको आरोप लाग्न थालेको छ।

निगमले भने निजीकरणको प्रयास नभई रणनीतिक साझेदार भिœयाउन कम्पनीको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी बुझाइएको जनाएको छ । अर्थ मन्त्रालयले असार १५ भित्र मस्यौदा पेस गर्न दिएको निर्देशनअनुसार निगम सञ्चालक समितिले असार १० गते उपसमिति गठन गरी मस्यौदा तयार गरिएको निगमले उल्लेख गरेको छ ।

त्यसरी तयार गरिएको मस्यौदा असार १३ गते निगम व्यवस्थालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई बुझाउन सञ्चालक समितिले निर्देशन दिएको पनि विज्ञप्तिमा जनाइएको छ । उक्त मस्यौदा निगम व्यवस्थापनलाई नभई अर्थ मन्त्रालयको निर्देशनअनुसार मन्त्रालयलाई नै बुझाइएको निगमले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया