भक्तपुर, असार १६ : मानो रोपेर मुरी उब्जाउने, दही चिउरा खाने र धान रोपेर दिवस मनाउने दिन हो असार १५ । रोपाइँ गर्ने व्यक्तिहरू रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने परम्परा रहेको किसानको भनाइ छ ।
धान दिवस मनाउँदा कृषि क्षेत्रमा टिकिरहन किसानलाई थप हौसला मिल्ने विश्वास गरिएको भक्तपुरका किसान हरिकाजी लाखाले बताउनुभयो । परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसियालीमा भोजस्वरूप दही चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
उहाँले माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसियालीमा दही चिउरा खाने गरिएको पनि बताउनुभयो । संस्कृतिकर्मी धौभडेलले रोपाइँमा सबैलाई भ्याइनभ्याई हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दही चिउरा खाने प्रचलनले महìव पाएको धारणा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार पहिले माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता हुँदैन, त्यसैले रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । सबैजसो किसानका घरमा गाईभैँसी पालिएको हुन्थ्यो । गाईभैँसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घिउ खाली नहुने भएकाले यो चलन भएको पनि प्रस्ट पार्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘‘कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महìव खल्लो हुने क्रम बढेको छ । असार १५ कृषिमा नेपालीहरूको आत्मनिर्भरताको प्रमाण हो । पहिले दही र चिउरा घरकै हुन्थे थप्नुुहुन्छ, तर अहिले दही चिउरा दुवै किन्नुपर्छ ।’’
स्वास्थ्यका लागि अब्बल
जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेती दहीले बच्चादेखि बूढाबूढीको स्वास्थ्यका लागि फाइदा पु¥याउने जानकारी दिनुभयो । यो पञ्चअमृतमध्ये एक पर्ने भएको हुनाले यसलाई हामीले स्वास्थ्यका लागि अमृतका रूपमा लिनुपर्ने जानकारी दिनुभयो । उहाँले दहीमा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउनुका साथै यसमा जिङ्क, भिटामिन ई, फस्फोरसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई राम्रो हुने जानकारी दिनुभयो ।
डा. उप्रेतीका अनुसार दूध नपच्नेलाई पनि दहीले धेरै राम्रो गर्नुका साथै पेटमा पाचन उपयोगी ब्याक्टेरियाको वृद्धि गर्छ । डा. उप्रेतीका अनुसार दहीले कोलस्टेरोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ र मुटु स्वस्थ बनाई प्रतिरोधी क्षमताको विकास गर्छ । दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइनुका साथै सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइने डा. जितेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
असार १५ लाई धानको श्रीवृद्धिभन्दा पनि फोटो खिचाउने, रमाइलो गर्ने जस्ता कामले प्रचार पाएकोमा किसान भने चिन्तित छन् । भक्तपुरका खेतमा युवकयुवती काम गर्नका लागि नभएर टिकटक बनाउन मङ्गलबार व्यस्त भए । ‘‘फोटा खिचेर मात्र रोपाइँ राम्रो हुँदैन, बढी धान फल्दैन’’, किसान राजुमान महर्जनको भनाइ छ ।
बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्कीका अनुसार पूरै नजमेको वा एकराते दही भने यो मौसममा खानुहँुदैन । “यसले कफ बढाउँछ र शरीरमा सर्दी लगाउँछ, राम्रोसँग जमेको दही खानु उपयुक्त हुन्छ”, डा. कार्की बताउनुहुन्छ ।